काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।
दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।
तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।