११ मंसिर २०८१, मंगलबार

असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु गरिने


विद्यालय

काठमाडौं । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिए ।

वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिए ।

सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह छन् ।

मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देश गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कनलगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ ।

यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पु(याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा घोषणा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन साउन १ गतेबाटै गर्न मन्त्री श्रेष्ठले निर्देशन गरे । सरकारले प्रारम्भ गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजान आवश्यक कार्यविधि बनाउनसमेत उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न निकायका अधिकारीलाई निर्देश गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !