६ जेष्ठ २०८१, आइतबार

चुरे दोहनले रित्तिँदै पानीको भण्डार


चुरे दोहन

काठमाडौँ । फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ । चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी भेटिन्न ।’

डा. यादवले सुनाएको दुःख जनकपुरको मात्र नभई सम्पूर्ण मधेसको हो। यस क्षेत्रका अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन् । इनारहरू सुक्न थालेका छन् । गहिरो गरी गाडिएका चापाकल (ट्युबवेल) बाटसमेत पानी आउन छाडेको छ। खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन् ।

पानीको मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँजेको छ। चारनाथ खोला र कमला नदी उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोली निवासी कमल महतोले बताए ।

‘कलको ह्यान्डल घन्टौं थिच्दा पनि बाल्टिन भरिँदैन,’ उनले सुनाए। महतोको घरसामुन्ने खानेपानी कार्यालयले बनाइदिएको इनार छ, तर दुई वर्ष भयो पानी पलाउन छाडेको छ । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरका जनता पनि खानेपानीको चरम अभाव खेप्न बाध्य छन् ।

‘दुई वर्षअघिसम्म जसोतसो चापाकलले पानी फालेको थियो,’ स्थानीय गीता जोशी भन्छिन्, ‘पोहोरबाट त चुहिनै छाड्यो।’ यतिखेर गीताको परिवारलाई राजमार्गभन्दा दक्षिणतिर घर भएकी सुनिता भट्टराईकहाँबाट पानी ल्याएर प्यास मेटाउनुको विकल्प छैन । सिरहा गोलबजार नगरपालिकाका जनता पनि काकाकुल बन्न पुगेका छन् ।

चुरेनजिकैको यो नगरपालिकाका अधिकांश वडाका बासिन्दा पानीको चर्को अभाव बेहोर्न बाध्य छन्। पानीको मुहान तलतल गएपछि नगरवासीलाई खानेपानीको समस्या झन्झन् चुलिँदै गएको स्थानीय रामस्वरूप महतो बताउँछन्। यो समाचार नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !