८ मंसिर २०८१, शनिबार

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द


चीनबाट २० लाख कोरोना खोप नेपाल ल्याउने तयारी

काठमाडौं । कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् ।

विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य सेवा विभागलाई मूल्य समायोजनका लागि दबाब दिँदै आएको नेपाल औषधि उत्पादक संघले वैशाखयता बारम्बर मूल्य समायोजनका लागि विभागमा पत्र पठाएको छ । संघले विक्री मूल्यभन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले उत्पादन नै गर्न नसकिने अवस्था आएको बताउँदै आएको छ ।

संघका अध्यक्ष नारायण क्षत्रीले विक्री मूल्यभन्दा लागत मूल्य बढी भएकाले औषधिको उत्पादन गर्न नसकिने अवस्था आएको बताए । १४ वर्षअगाडि सरकारले मूल्य समायोजन गरेकोमा हाल त्यो मूल्यमा औषधि उत्पादन गर्न नसकिने उनले बताए । ‘अहिले नै ठाउँठाउँमा प्यारासिटामोलको अभाव देखिन थालिसकेको छ,’ उनले भने, ‘उत्पादन गरेर घाटा खाइन्छ भने कसले उत्पादन गर्छ ? व्यवसायीले उत्पादन गर्न छाडेका छन् ।’

उनले संघले नै अत्यावश्यक औषधिको मूल्य धेरै हुनु नहुने भन्दै १४ वर्षअघि कम मूल्य तोकेकामा त्यसयता मूल्य समायोजन नभएको बताए । २०६४ असोज १० गते संघ र विभागले औषधिको मूल्य समायोजन गरेकोमा त्यसयता मूल्य समायोजन हुन नसकेको व्यवसायीहरूले बताउँदै आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !