काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।
कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा।पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ।
दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन्। सरकारले उपचारका लागि शयया बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताए। ‘शययामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन’, उनले भने। सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा. पाण्डेले भने।
तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक थपलियाको छ। ‘नेपालमा भारतकै शैलीमा संक्रमण तीव्र भएकाले नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने देखिन्छ’, उनले भने। तर लकडाउन गर्नुअघि सरकारले जनतालाई केही दिनअघि नै सूचना दिनुपर्ने उनी बताउँछन्।
शुक्रराज ट्रपिकल अस्पतालका डा.बास्तोला संक्रमणबाट जोगिन अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाउँछन्। ‘संक्रमित बढेमा शयया पाए पनि मृत्यु हुने सम्भावना हुन्छ, बरु अस्पतालमै जानुनपर्ने गरी जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गरौं’, उनको आग्रह छ। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।