७ बैशाख २०८१, शुक्रबार

ओलीलाई हटाउन नयाँ सत्ता गठबन्धन बनाउन व्यापक गृहकार्य


प्रचण्ड, देउवा र बाबुराम

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् ।

नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ । काठमाडौंबाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि भन्दै हतारहतार काठमाडौं आएका थिए ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताएको छ ।

माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको औपचारिक पत्र लेख्नमात्रै बाँकी रहेको बताएको छ । देउवासँगको भेट र पछिल्लो राजनीतिक अवस्थालाई लिएर आइतबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

कांग्रेसको निर्णयपछि उत्साही माओवादी केन्द्र जनता समाजवादी पार्टीको एउटा समूहसँग नियमित संवादमा छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम प्रतिगामी भएको भन्दै नयाँ सरकार बनाउने पक्षमा छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भने जसले आफ्ना माग पूरा गर्छ, उसैसँग सहकार्य गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग संवाद गरिरहेका छन् । कांग्रेसको निर्णयले ओलीको विकल्प खोज्न सहज बनाएको जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईले बताइसकेका छन् ।

एमाले र माओवादीको एकता भंग भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवालाई कांग्रेस नेतृत्वको सरकारको पहल थाल्न तीन पटक आग्रह गरिसकेका छन् । यसअघि दाहालले १७ चैतमा देउवालाई भेटेर कांग्रेस नेतृत्वको सरकारका लागि अग्रसरता र ठोस निर्णय लिन आग्रह गरेका थिए ।

दाहालले फागुन २३ मा नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पर्सिपल्ट फागुन २५ मा निवासमै पुगेर देउवासँग भेट गरेका थिए । त्यसलगत्तै देउवाले फागुन २८ मा जसपा नेताहरूसँग छलफल गरेका थिए । चैतको सुरुमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त बैठक बस्ने तयारी भए पनि रोकिएको थियो ।

जसपासँगको भेटपछि देउवाले फागुन २९ मा पार्टीको केन्द्रीय महिला विभागले आयोजना गरेको प्रशिक्षणमा देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको र परिस्थिति आइपरे जिम्मेवारी लिन आफू तयार रहेको बताएका थिए । आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि देउवा अझै जसपासँग ढुक्क छैनन् ।

जसपासँग सहकार्यका लागि रेशम चौधरीको रिहाइ प्रमुख मुद्दा हुने र त्यसले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको राजनीति प्रभावित हुन सक्ने उनको बुझाइ छ ।यसअघि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले औपचारिक रूपमै चुनावको प्रस्ताव गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !