२० कार्तिक २०८१, मंगलबार

‘ओलीका ठाउँमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर कसरी लोकतन्त्रको रक्षा हुन्छ ?’


प्रचण्ड र केपी ओली

काठमाडौँ । नेपालको फुटबल टिमले बंगलादेशविरुद्ध खेल त जित्यो, तर त्योभन्दा बढी चर्चापरिचर्चा रंगशालामा प्रधानमन्त्री केपी ओलीको उपस्थितिले पायो। लामो समय पार्टीभित्र विवाद रहेको पृष्ठभूमिमा प्रचण्डसँग मिलेर आफूविरुद्ध संघर्ष तीव्र बनाएका माधव नेपाललाई कारबाहीको पत्र लेखेपछि खेल हेर्न रंगशाला पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय टिमलाई बधाई दिँदै थिए ।

स्वतस्फूर्त रूपमा नेपालको फुटबल टिमले ‘केपी बा, ‘आई लभ यु’ भन्ने नारा लगायो। प्रधानमन्त्री ओलीको जानेर वा नजानेर विरोध गरेका समूहलाई यति मात्र मुद्दा बन्यो। केही बौद्धिक भनिने व्यक्तिले सामाजिक सञ्जालमा नै खेलाडीप्रति तिक्तता पोखे।

सर्सर्ति हेर्दा राष्ट्रको प्रधानमन्त्रीलाई यसरी राष्ट्रिय टिमले माया गर्नु वा गरेको देखाउनु कुनै पनि रूपमा असहज होइन। हुन त नेताहरूले विभिन्न यस्ता हत्कण्डा बनाएर जनतालाई झुक्याएर आफू लोकप्रिय भएको देखाउने गर्छन् । मिडियाबाजी र फोटो अप्रेसनका यी तरिका संसारभरि आधुनिक लोकतन्त्रका विकृति बनेर देखिएका छन् ।

नेपालमा प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय फुटबल समूहले यसरी नारा लगाउँदा अप्ठेरो मानिनुको पछाडि अहिलेको राजनीतिक अवस्था र हाम्रो आम जनमानसमा विचार बन्ने प्रक्रियाको ठूलो भूमिका छ। अति ध्रुवीकरण भएको अहिलेको राजनीतिक अवस्थामा कि ओलीका पक्षमा कि ओलीका विरोधमा तीव्र फाटो ल्याउन सक्नु प्रचण्डको नेतृत्वमा भएको लामो राजनीतिक संघर्षको सफलता नै मान्नुपर्छ ।

ओली पक्षका कुरा सुन्ने हो भने सरकार बनेदेखि नै ओलीको नेतृत्वबाट सरकार र पार्टी फुत्काउने षड्यन्त्र सुरु भएको हो र मिडिया, नागरिक समाज तथा पार्टीकै नेताहरू पनि त्यही उद्देश्यका लागि निरन्तर एउटा रणनीतिमातहत प्रयोग गरियो।

प्रचण्डले संसदीय राजनीतिमा धनको प्रयोग गरेर तथा मिडियालाई प्रभावमा राखेर परिस्थिति नियन्त्रणमा राख्न सकिन्छ भन्ने सोचले प्रेरित रहेको लक्षण देखाउन थालेको धेरै भयो । लोकतन्त्रको लामो इतिहासले देखाएको छ– पैसा र पत्रकारिताको प्रभावले मात्र सधैं सत्तामा नियन्त्रण गर्छु भनेर सोच्नु मुख्र्याईं हो ।

हो, यी कुराले चुनाव र जनमत दुवै प्रभावित पक्कै हुन्छन् केही हद्सम्म, तर आम जनतामा लोकप्रियताको लहर आउन नेताको चरित्रसँग जनताको आकांक्षाको मेल हुनुपर्छ। जनताको स्थायित्वको चाहना, वाम एकता, भारतविरुद्धको अडानले बनाएको पात्रता तथा समृद्धिको सपना एकै ठाउँमा आउँदा एउटा ठोस परिस्थिति निर्माण भएकाले नै लगभग दुईतिहाइ बहुमत आएको थियो।

केपी ओलीको विरोधमा गरिएको संगठित उद्यमलाई स्वतन्त्र र जायज मान्ने तर खेलाडीले गरेको नाराबाजीलाई प्रायोजित वा अनुचित ठान्ने दोहोरो चरित्र अहिलेको बौद्धिक समाजको वास्तविकता बन्न पुगेको छ । यो यथार्थ स्वीकार गर्न नसकेर आफ्नो शक्ति र चातुर्यमा बढी विश्वास गर्ने प्रचण्डको महत्वाकांक्षा प्रेरित राजनीतिक व्यवहारले नै देश दुर्घटनामा पुगेको हो ।

ओलीमा अनेक कमीकमजोरी होलान्, चतुर राजनीतिकर्मीका हिसाबले उनका अनेक कदम नैतिक हिसाबले जायज मान्न नसकिएला, तर स्वतन्त्र भनिने नागरिक समाज हिजो हत्या र हिंसाका कारकलाई आज लोकतन्त्रको नायक बनाउँदै ओलीलाई खलनायक बनाउन जसरी लागिरहेको देखिन्छ; यसबाट प्रस्ट देखिन्छ कि मिडिया एकतर्फी रूपमा प्रभावित गरेर प्रचण्डले आफ्ना पक्षमा माहोल सिर्जना गर्न आंशिक सफलता हासिल गरेका छन् ।

नागरिक समाजका नाममा कुनै एक पक्षको हतियार बनेर केही अगुवाले आफूलाई स्वतन्त्र भन्ने हकसमेत गुमाइसकेका छन्। यस्तो परिस्थितिमा जब राष्ट्रिय फुटबल समूहले ‘केपी बा, आई लभ यु’ भनेर नारा लगाउँछ, सामाजिक सञ्जालमा ती निर्दोष खेलाडीलाई नै तारो बनाइन्छ।

अहिलेको तीव्र ध्रुवीकरणको अवस्थामा राजनीतिक पार्टीका सदस्यहरूले मात्र होइन; स्वतन्त्र हुनुपर्ने पत्रकार, सम्पादक तथा नागरिक अगुवाहरूले पनि पात्रता गुमाएका छन् । हुँदाहुँदा डबलीबाटै एक पक्षका नेताहरूलाई उभ्याएर ‘किन ओलीलाई हटाउन एकजुट हुन सक्नुभएन ?’ भन्ने प्रश्न नारायण वाग्ले, कृष्ण खनाल र खगेन्द्र संग्रौला आदिद्वारा निर्देशित कार्यक्रममा उठेको थियो ।

यसरी ओलीका विरोधमा गरिएको संगठित उद्यमलाई स्वतन्त्र र जायज मान्ने तर खेलाडीले गरेका नाराबाजीलाई प्रायोजित वा अनुचित ठान्ने दोहोरो चरित्र अहिलेको बौद्धिक समाजको वास्तविकता बन्न पुगेको छ ।

नेपालको राजनीतिमा ०४६/४७, र ०६२/६३ को समयमा जुन नागरिक अगुवाको प्रभाव थियो; अहिले पनि तिनैले अगाडि सरेर तेस्रो जनआन्दोलन घोषणा गरेका छन् । तर, वर्तमान नेपाली समाज राजनीतिक सुझबुझ र सूचनामा पहुँचका हिसाबले धेरै फरक छ ।

सँगसँगै, अब समाजमा युवाकेन्द्रित नेतृत्वको माग पनि बढ्दो छ । आजको युवाले प्रश्न गर्न थालेका छन् – ओलीका ठाउँमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर कसरी लोकतन्त्रको रक्षा हुन्छ ? यो प्रश्नको चित्तबुझ्दो उत्तर नहुँदा प्रायोजित, निर्देशित वा स्वतन्त्र नै भए पनि एकपक्षीय आन्दोलनमा युवाको साथ छैन। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनकर नेपालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !