९ मंसिर २०८१, आइतबार

पर्ख र हेरकै अवस्थामा कांग्रेस : तत्काल न बोल्ने, न खुल्ने


नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांग्रेसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ ।

हाल कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र कुनै पनि पक्षतर्फ नखुल्ने रणनीति लिएको हो ।

मंगलबार मात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको ‘रणनीति’ बुझ्न सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । त्यस क्रममा देउवाले कांग्रेस ‘पर्ख र हेरकै अवस्थामा रहेको र सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन पनि निरन्तर रहेको’ भन्दै कांग्रेसले थप कुनै निर्णय तत्कालै नलिने सन्देश दिएका थिए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले माओवादी केन्द्र र जसपा आफैं सत्ता समीकरणका लागि प्रस्ट नभइसकेका कारण तत्काल कुनै निर्णयमा पुगिहाल्ने अवस्था नरहेको प्रस्ट पारे ।

पछिल्लो समय सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्ने निर्णय गरेपछि सरकारको विकल्पबारे चर्चा हुँदै आए पनि अवस्था परिपक्व नभएको जवाफ कांग्रेसले दिदै आइरहेको थियो ।

पछिल्लोपटक नेकपा विवादबारे सर्वोच्चले फैसला गरेर नेकपालाई साबिककै अवस्थामा पु-याइदिएपछि कांग्रेस पर्ख र हेरकै अवस्थाबाट अघि बढ्दै आएको छ । यसबीच कांग्रेसले माओवादी केन्द्रसहित जसपासँग धारणा भने बुझ्दै आएको छ ।

संसद् विघटन समय सरकारको विरोध र पुनस्र्थापनाका पक्षमा खुलेर लागेका नेतासमेत कांग्रेसको आगामी रणनीतिबारे पछिल्लो समय मौन रहँदै आएका छन् । कांग्रेसको मौनतालाई सत्ता र बाहिर रहेका दलले समेत चासोसाथ हेरिरहेका छन् ।

कांग्रेसले पछिल्लो राजनीतिक अवस्थासहित १४ औं महाधिवेशनबारे छलफल गर्न २० चैतका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सोही बैठकमार्फत थप रणनीति अघि सार्ने अपेक्षा गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !