३१ भाद्र २०८१, सोमबार

देउवा र प्रचण्डबीच भेटवार्ता : ओलीको विकल्प खोज्‍न प्रचण्डको प्रस्ताव


प्रचण्ड र देउवा फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा राजनीतिक घटनाक्रम, संसद अधिवेशन, वैकल्पिक सरकार निर्माणलगायतका विषयमा छलफल भएको थियो ।

स्रोतका अनुसार भेटमा देउवाले माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले स्पस्ट निर्णय गरेपछि मात्र कांग्रेसले अग्रसरता लिनसक्‍ने बताएका थिए । भेटमा प्रचण्डले कांग्रेस मौन बसेर रमिता हेर्दा ‌प्रधानमन्‍त्री केपी ओलीको स्वेच्छारिता बढेको भन्दै ओलीको विकल्प खोज्‍न ढिलाइ भइसकेको बताएका थिए ।

यसअघि पनि प्रचण्डले देउवासँग पटकपटक भेटेर वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिन आग्रह गर्दै आए पनि देउवा पर्ख र हेरको रणनीतिमा छन् । त्रिशंकु संसदको अंकगणित र सत्ता खेलमा अल्झिनुभन्दा चुनावमा जानु ठीक हुनेमा देउवाको जोड रहँदै आएको छ ।

भेटबारे बुझ्‍न खोज्दा सभापति देउवाका स्वकीय सचिव भानु देउवाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिए । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको एक महिना वितिसक्दा पनि संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छ न त प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरता सुनिश्‍चित भइसकेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !