१ मंसिर २०८१, शनिबार

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौँ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका नेकपा एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोकै आधारमा तीन दिनअघि चारै जनालाई महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण पत्र पठाएका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको थियो ।

त्यसपछि चार जना नेतालाई महाधिवेशन आयोजक कमिटीका सदस्यको रूपमा सम्बोधन गर्दै स्पष्टीकरण पत्र पठाइएको थियो । प्रतिउत्तरमा के–के विषय कसरी समेट्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन ।

स्पष्टीकरण सोधिएका चिठीहरू पहिले नै सञ्चारमाध्यममा आए पनि उनीहरूले पत्र प्राप्त गरेपछिको तीन दिनको समयसीमा बिहीबार पुग्दै छ । स्पष्टीकरण पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही किन नगर्ने भन्ने प्रश्न सोधिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !