काठमाडौँ । चीन सरकारले अनुदानमा उपलव्ध गराउने ८ लाख डोज खोप केही दिनमै ल्याउने तयारी सरकारले गरे पनि भविष्यमा यो खोप खरिद गर्ने/नगर्ने भन्नेचाहिँ निश्चित छैन । विज्ञका अनुसार अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप जस्तो चिनियाँ खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिए पनि यसको आयतन (भ्याक्सिन भोलुम) अत्यधिक छ ।
यो खोपको हरेक डोज सिरिन्जमा अथवा भायलमा आउने भएकाले समग्र सिरिन्ज तथा भायललार्ई कोल्ड चेनमा राख्नुपर्ने हुन्छ। एउटा भ्याक्सिन क्यारियर (बाकस) मा अक्सफोर्ड र अस्ट्राजेनेकाको सय डोज खोप राख्न सकिन्छ भने चिनियाँ खोप १५ देखि २० सिरिन्ज मात्र अट्छ।
अक्सफोर्ड र अस्ट्राजेनेकाको प्रतिभायलमा ११ डोज खोप हुन्छ भने चीनको सिनोफर्मा कम्पनीले विकास गरेको खोप दुई हिसाबले उपलब्ध छ। यो खोप एकमात्र डोज रहेको भायलमा अथवा सिरिन्जमा उपलब्ध छ।
यसरी समग्र कोल्ड चेन आवश्यकताका हिसाबले अक्सफोर्ड र अस्ट्राजेनेकाको खोपभन्दा चिनियाँ खोपलाई धेरै लजिस्टिक तयारी चाहिन्छ। विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियान (मास भ्याक्सिनेसन) मा त्यति उपयोगी नहुन सक्छ।
विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियानमा त्यति उपयोगी नहुन सक्छ। चीनको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ।
चीन सरकारको स्वामित्वमा रहेको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ। यो नेपालको आमखोप अभियानका लागि महँगो मूल्य हो।
खोप उत्पादन भएपछि प्रयोग गरिसक्नुपर्ने समयावधिका हिसाबले यो खोप राम्रो छ। यसलाई उत्पादन भएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ। अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादनको चारपाँच महिनाभित्र प्रयोग गरिसक्नुपर्छ। पाकिस्तान, युनाइटेड अरब इमिरेट्स, बहराइनलगायत विश्वका विभिन्न देशमा सिनोफर्माको खोप प्रयोगमा छ।
नेपालले आपत्कालीन प्रयोग अनुमति दिएको भारतको अर्कोे खोप कोभ्याक्सिन पनि कोल्ड चेन मेनेजमेन्टका हिसाबले उपयुक्त छ। भारत बायोटेक कम्पनीले बनाएको यो खोपको प्रतिडोज मूल्य १६ अमेरिकी डलर पर्ने भएकाले दुई डोजको मूल्य ३२ अमेरिकी डलर पर्न जान्छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारी यो मूल्य पनि तुलनात्मक रूपमा महँगो ठान्छन्। तर जोखिममा रहेका र विपन्न वर्गले खोप लगाइसकेपछि निजी क्षेत्रले यस्ता खोप ल्याएर अन्यलाई लगाउन सक्ने स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।