७ जेष्ठ २०८१, सोमबार

कोरोना संक्रमण पुन: फैलिँदै : फैलावट तीव्र भए लकडाउन हुन सक्छ


कोरोना संक्रमण

काठमाडौँ । छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउन समेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन् ।

‘संक्रमण दर उच्च भए त्यसको चेन बे्रक गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ’, उनले भने । उनले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरे।

भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । ‘भारतबाट आउने केहीमा पोजेटिभ पनि देखिएको छ, सीमानाकामै जाँच गरेर हामीले नियन्त्रणको प्रयास गरिरहेका छौं’, उनले भने ।

भारतमा संक्रमण बढ्दा नेपालमा पनि बढेको अनुभव छ । ‘भारतमा कोरोना संक्रमित बढ्दा नेपालमा पनि बढेको विगतको अनुभव छ। त्यसैले अहिले पनि थप सचेत हुनुपर्छ। भारतमा संक्रमण र मृत्युदर दुवै बढ्दै गएको छ,’ सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले भनिन् । नेपालको सीमावर्ती भारतका पश्चिम बंगाल, उत्तर प्रदेश र बिहार राज्यमा कोरोना संक्रमण दर बढेकाले पनि नेपाल उच्च जोखिममा रहेको उनले बताइन्।

नेपालमा एकडेढ महिनायता संक्रमण नियन्त्रण उन्मुख थियो । तर एक सातायता संक्रमण दर दैनिक डेढ सयदेखि २ सयको हाराहारीमा पुगेको छ। बुधबार काठमाडौं उपत्यकामा ६३ जनासहित १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो संख्या १८० थियो । अहिले मुलुकमा एक हजार १८२ जना सक्रिय संक्रमित छन् । संक्रमित २१३ जना संस्थागत आइसोलेसनमा र ९६९ जना होम आइसोलेसनमा छन् । हालसम्म मुलुकमा २ लाख ७६ हजार २८९ जना संक्रमित भएकोमा तीन हजार २० जनाको मृत्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !