४ जेष्ठ २०८१, शुक्रबार

ओलीको सरकारविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव ल्याउने तयारी


प्रधानमन्त्री केपी ओली सुरक्षा गार्डसँग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ।

‘कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने संस्थागत निर्णय गरेमा तुरुन्तै हस्ताक्षर प्रक्रिया सुरु हुनेछ । बहुमत हस्ताक्षर बनाएर राखेपछि माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ’, स्रोतले भन्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्रीको प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासँग राखेका छन् ।

जसपाको एउटा धारले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर औपचारिकरूपमै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गएको शुक्रबार देउवालाई प्रधानमन्त्री स्विकार्ने बताएका थिए। जसपाभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने अहिले कसैलाई पनि समर्थन गर्न नहुने धारणा राख्दै आएको छ।

अहिलेसम्म कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न तयार भएको मात्रै बताएको छ। उसले कुन–कुन दलसँग सहकार्य गर्ने भन्ने निर्णय गरेको छैन। स्रोतका अनुसार कांग्रेसले माओवादी केन्द्र र जसपासँग गठबन्धन गर्ने सम्भावना बढी छ किनभने ओलीसँग सत्तासमीकरण गर्दा ऊ बढी आलोचित बन्न पुग्नेछ। जसपाले एकमतले ओलीसँग सत्तासमीकरण नगर्ने घोषणा गरेपछि मात्र देउवाले यस विषयमा धारणा सार्वजनिक गर्ने स्रोतले बतायो।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रले निर्णय नगरेको र एमालेभित्र माधवकुमार नेपाल–झलनाथ खनाल समूहको असन्तुष्टिका कारण जसपाले सहयोग गरे पनि ओलीले विश्वासको मत लिन नसक्ने अवस्था देखिएपछि उसले तत्काल निर्णय गर्न नसकेको स्रोतको दाबी छ।

कांग्रेस र माओवादी केन्द्रमा सत्ता गठबन्धनबारे आन्तरिक विवाद नभएकाले उनीहरूसँगै सत्तासमीकरण गर्ने निर्णयमा जसपा पुग्ने सम्भावना बढी देखिएको स्रोतले बतायो। जसपाका केही नेताले ओलीविरुद्ध निर्णय हुने आश्वासन कांग्रेस र माओवादी केन्द्रलाई दिएको स्रोत बताउँछ। जसपा ओलीको समर्थनमा गए पार्टीमा फुट आउन सक्ने र ओलीको चाहना पनि मधेसी दल फुटाउने रहेकाले उसले कांग्रेस र माओवादी केन्द्रसँग सत्तासमीकरण गर्ने सम्भावना बढी छ।

जसपाले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्दा पार्टी फुटबाट बच्न सक्ने र आफ्नो मतको मूल्य पनि हुने भएपछि उसले ओलीलाई समर्थन गर्न सक्ने सम्भावना न्यून रहेको राजनीतिक विष्लेषण छ। कांग्रेस र जसपाको समर्थन पाएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाले ओली पक्षीय एमालेले कर्णालीका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । ओली एमालेले संघीय संसदीय दलको बैठक बिहीबार बोलाएर सरकारविरुद्ध संसद्मा मतदान गरेमा कारबाही गर्नेगरी संसदीय बोर्ड गठन गरेको छ । एमाले नेपाल समूहले अविश्वासको प्रस्तावमा मतदान गर्ने सम्भावना देखिएपछि ओलीले कारबाही गर्ने तयारी गरेको स्रोत बताउँछ ।

नेपाल समूहले जसपाले सहयोग नगरे पनि ओलीको विपक्षमा मतदान गर्ने रणनीति तय गर्न वातावरण तयार भइरहेको स्रोतको दाबी छ। तर नेपाल समूहसँग मात्र भर पर्दा ओलीले कुनै अस्त्र प्रयोग गरी सांसद प्रभावित पारिदिए भने अविश्वासको प्रस्ताव असफल हुने भएकाले जसपाको निर्णयपछि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने रणनीति माओवादीले तय गरेको स्रोत बताउँछ । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !