काठमाडौँ । भारतमा ४० वर्षदेखि जेल जीवन बिताउँदै आएका इलामका दीपक जोशी तिमिल्सिना सम्भवतः सोमबार छुट्दै छन् । इलाम घर भएका तिमिल्सिना सन् १९८० मा दार्जिलिङमा पक्राउ परेका थिए ।
४० वर्ष बितिसक्दा पनि तिमिल्सिनामाथि लगाइएको मुद्दाको किनारा लाग्ने त परै जाओस्, सुनुवाइसमेत भएको थिएन । भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारमा १० वर्ष सँगै बसेका भारतीय नागरिक राधेश्याम दास छुटेपछि मात्र तिमिल्सिनाबारे खुलेको हो ।
गत असोजमा कारागारबाट छुटेपछि दासले स्थानीय वेस्ट बंगाल रेडियो क्लबलाई तिमिल्सिनाका विषयमा खबर गरेका थिए । त्यही क्लबले दिएको सूचनाका आधारमा नेपालको उच्च अदालतका पूर्वमुख्य न्यायाधीश विदुरविक्रम थापाले तिमिल्सिनालाई छुटाउन पहल थालेका थिए ।
तिमिल्सिना बिनासुनुवाइ चार दशकदेखि जेलमा रहेको खुलेलगत्तै कोलकातास्थित महावाणिज्य दूतावासले मुद्दाका सम्बन्धमा पत्र लेखेको थियो । तिमिल्सिनाबारे थाहा पाउनासाथ परिवारको सोधखोजदेखि अदालती प्रक्रियाका लागि पहल गरेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए । त्यसपछि मात्र अदालतले सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।
अदालतमा पेस गरिएका कागजातअनुसार तिमिल्सिना हत्या आरोपमा १२ मे १९८० मा दार्जिलिङबाट पक्राउ परेका थिए । अदालतले गत फागुन २७ को सुनुवाइका क्रममा उनको मानसिक र शारीरिक अवस्थाप्रति पनि चासो प्रकट गरेको थियो ।
महावाणिज्य दूतावासले तिमिल्सिनाको शारीरिक र मानसिक अवस्थाका सम्बन्धमा पेस गरेको विवरणलाई अदालतले आधार बनाएको हो । अदालतले तिमिल्सिनाका आफन्त, महावाणिज्य दूतावासका प्रतिनिधि र उनलाई छुटाउन पहल गरिरहेका सबैलाई सोमबारको सुनुवाइमा उपस्थित हुन भनेको छ ।
तिमिल्सिना बिनाट्रायल करिब ४० वर्ष थुनिँदासमेत राज्य कसरी बेखबर रह्यो भन्ने प्रश्नको जवाफ भने पौडेलले दिन सकेनन् । यो घटनाले आफ्ना नागरिकप्रति राज्यको उदासीनतासमेत उजागर गरेको छ । कोलकातास्थित उच्च अदालतमा गत फागुन २७ मा तिमिल्सिनाको मुद्दाको सुनुवाइ भएको थियो ।
अदालतले चैत २ (सोमबार) का लागि अर्को पेसी तोकेको छ । सोमबार नै अदालतले तिमिल्सिनाको रिहाइको आदेश दिने सम्भावना छ । महावाणिज्यदूत पौडेलले गत साताको सुनुवाइमा अदालत जोशीलाई रिहा गर्न सकारात्मक देखिएको पौडेलले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।