३ मंसिर २०८१, सोमबार

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई लगाइने


कोरोना भाइरस विरुद्धको खोप

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा. श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए । नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन् ।

कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत भ्याक्सिन निःशुल्क ल्याइनेछ । ५२ प्रतिशत नागरिकलाई भ्याक्सिन लगाउन आवश्यक पर्ने बजेट सरकारले बेहोर्नुपर्नेछ । त्यसका लागि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने सरकारको प्रारम्भिक अनुमान छ ।

हालसम्म स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना कार्यान्वयनमा ल्याएको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि विषयगत समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । यस्तै, भ्याक्सिन उत्पादन परीक्षण भइरहेका देशसँग कूटनीतिक प्रयास थालिएको सहप्रवक्ता डा. अधिकारीले बताए ।

नेपालमा खोप भण्डारण गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नरहेकाले फाइजरको खोप आउने सम्भावना नरहेको बताइएको छ । सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि तयारी गरेको छ । नेपालमा दिइने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !