८ पुस २०८१, सोमबार

भागबन्डामै अल्झियो मन्त्रिपरिषद् पुनर्गठन : प्रशासनिक कामकारबाही प्रभावित


ओली प्रचण्ड

काठमाडौं, असोज १२ । महत्वपूर्ण मन्त्रालयको भागबन्डामा किचलो हुँदा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार पुनर्गठनका विषयमा निरन्तर छलफल भए पनि भागबन्डामा सहमति हुन नसक्दा पुनर्गठनमा ढिलाइ भएको हो ।

पुनर्गठनबाट हट्न सक्ने सम्भावना रहेका केही मन्त्रीहरू मन्त्रालय आउन छाडेका छन् जसका कारण मन्त्रालयको प्रशासनिक कामकारबाहीसमेत प्रभावित हुन पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अध्यक्षद्वय ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भए पनि सहमति हुन सकेन । नेकपा स्रोतका अनुसार महत्वपूर्ण मानिएका मन्त्रालयका विषयमा भागबन्डा अझै मिलेको छैन । दुवै अध्यक्षले महŒवपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेकै कारण पुनर्गठनमा ढिलाइ भएको स्रोतको दाबी छ ।

‘दुवै अध्यक्षले महत्वपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेका छन्,’ नेकपा स्रोतले भन्यो, ‘कसलाई हटाउने र कसलाई ल्याउने विषयमा समेत सहमति हुन सकेको छैन ।’

नेकपाको सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारलाई अझै प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेछ । पार्टीको निर्णयअनुसार अध्यक्षद्वय ओली र दाहाल सरकार पुनर्गठनको अन्तिम तयारीमा रहेका हुन् । सचिवालय बैठक यता ओली र दाहालबीच भेटघाट एवं छलफल जारी नै रहेकाले केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतको दाबी छ ।

‘अध्यक्षद्वयबीचमा छलफल जारी नै छ, सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा उहाँहरू हुनुहुन्छ,’ वालुवाटार स्रोतले भन्यो, ‘केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

गत मंगलबारको सचिवालय बैठकमा सरकार पुनर्गठनका बारेमा छलफल भएको थियो । त्यसअघि स्थायी कमिटी बैठकले समेत सरकार पुनर्गठन गर्ने निर्णय गरिसकेको छ । गत बिहीबारदेखि अध्यक्षद्वय ओली र दाहालबीच भएको पटकपटकको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे गम्भीर छलफल भए पनि भागबन्डाकै किचलोका कारण सहमति हुन सकेको छैन ।

खुमलटार स्रोतका अनुसार सरकार पुनर्गठनबारे सचिवालय र स्थायी कमिटी बैठकमा विस्तृत रूपमा छलफल भएपश्चात् केही विषयलाई मिलाउँदै टुंगो लगाउने प्रयास जारी छ । सरकारको काम अझै प्रभावकारी बनाउन सोही अनुसार अघि बढनुपर्ने भएकाले केही ढिलाइ हुन गएको हो । तर, केही दिनमा नै पुनर्गठन गरेर अघि बढ्ने तयारीमा ओली र दाहाल रहेको बताइएको छ ।

प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजिनामा गराउने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने, दुई वर्ष पुराना मन्त्रीलाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा पुनर्गठन गर्ने लगायतका विभिन्न प्रस्तावबारे छलफल जारी रहेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले यी विभिन्न प्रस्तावबारेमा छलफल गरे पनि कुन मापदण्डअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सहमति हुन सकेको छैन ।

‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ ।

हालै सम्पन्न सचिवालय बैठकले सरकार पुनर्गठनबारे छलफल गरेको थियो । साथै लामो समयदेखि संवैधानिक अंगमा रिक्त पदाधिकारीमा पदपूर्ति गर्न, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा ठोस प्रस्ताव तयार गर्न भन्दै पार्टी अध्यक्षद्वय ओली र दाहाल, महासचिव विष्णु पौडेललाई १० दिनको समय दिएको छ । स्थायी कमिटी र सचिवालयको निर्णयअनुसार ओली र दाहाल त्यसैका लागि आन्तरिक तयारीमा जुटेको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा : यस्ता छन् मन्त्रीका दाबेदार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !