५ जेष्ठ २०८१, शनिबार

नेपाल-भारत प्रबुद्ध समूहद्वारा हालसम्मका प्रगतिबारे जानकारी


असोज २३, काठमाडौँ | उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्यले आइतबार आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन् । समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौँ बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

उहाँहरुले समूहको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराउनुभयो । बैठकमा दुई पक्षले आ–आफ्ना सरोकार तथा चासोका विषय स्पष्टसँग राखेको बताउनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रबुद्ध समूहमा भएको छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध सौहार्द हुनुपर्छ, त्यसका लागि खुला दिलले छलफल गर्नुहोला र सही निष्कर्ष निकाल्नु होला ।”

काठमाडौँमा सम्पन्न पाँचौं बैठकबारे जानकारी गराउँदै समूहका नेपाल संयोजक थापाले नेपाल–भारतको सम्बन्धका सबै विषयमा खुलारुपमा छलफल भएको र तोकिएको समयमै सकारात्मक निष्कर्ष आउने बताउनुभयो । त्यस्तै, समूहका भारततर्फका संयोजक कोश्यारीले काठमाडौँमा सम्पन्न दुईदिने बैठकमा नेपाल–भारत सबन्धका विविध विषयमा राम्रो छलफल भएको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !