१५ मंसिर २०८१, शनिबार

कच्चा पदार्थको अभावमा कामविहीन कैदीबन्दी


कैदीबन्दी

चितवन, ७ जेठ । कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदीबन्दी यतिखेर फुर्सदिला भएका छन् । सधैँ व्यस्त रहने कैदीबन्दी लकडाउनसँगै बजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन् ।

कारागार कार्यालय चितवनमा रहेका ३०० बढी कैदीबन्दी कारागारभित्रै नियमित काम गर्ने गर्दथे । उनीहरु अहिले फुर्सदिला भएका हुन् । लकडाउनका कारण बजारबाट आउने कच्चा पदार्थ नआएको र उत्पादित वस्तुलाई बिक्री गर्ने ठाउँ नभएपछि कैदीबन्दी कामविहीन भएका हुन् ।

कारागारमा मुढा बुन्ने, सुन चाँदीको काम, सिलाइकटाइ, पर्स बुन्ने र साडीको कडाइ गर्नेलगायत काम गरेर उनीहरु मासिक १० देखि १५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका थिए । यसरी काम गरेर आम्दानी भएको पैसा घरमा पठाउने गरेको उनीहरु लकडाउनका कारण बजारबाट आवश्यक पर्ने कच्चा पदार्थ आउन छाडेपछि कामविहीन भएका हुन् ।

कारागारमा कैदी जीवन बिताउँदै आएका बिहारी चौधरीले लकडाउनअघि मुढा बुनेर महिनाको रु १५ हजारसम्म घर खर्चका लागि पठाउने गर्दथे । लकडाउनका कारण अहिले कच्चा पदार्थ र बजारको अभावमा आफ्नो दैनिकी नै फेरिएको उहाँले बताउनुभयो । लकडाउनका कारण बाहिरबाट सामान आउन नपाउँदा काम बन्द भएपछि कारागारभित्र गरिने काम पनि बन्द भएकाले कसरी परिवार चलाउने चिन्ता उहाँमा थपिएको छ । चौधरीले भन्नुभयो, “कारागारमा बसेर घर खर्च पठाएको थिएँ । घरमा कमाउने कोही छैन, झन् चिन्ता थपियो ।”

बिहान उठेदेखि नै दिनभर उहाँ मुढा बुन्ने काममा व्यस्त रहने गर्नुहुन्थ्यो । कारागारमा यत्तिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको काम गरौं भन्ने लागेर मुढा बुन्ने काममा खटिएको उहाँले बताउनुभयो । कारागारमा मुढा बुन्ने कामले मन बहलाउनुको साथै आम्दानीको स्रोत पनि भएको बताउँदै उहाँले मुढा बुन्ने कामले दिन काट्न सजिलो भएको थियो तर लकडाउनका कारण बजारबाट कच्चा पदार्थ आउन छाडेपछि अहिले फुर्सदिला भएको छु भन्नुभयो ।

चौधरी मात्रै होइन, कुनै समय मुढा बुन्ने काममा नै व्यस्त रहने गरेका कैदीबन्दी अहिले कच्चा पदार्थको अभावका कारण कामविहीन बनेका छन् । लामो समयदेखि मुढा कम्पनी चलाउँदै आएका अर्का कैदी अमृत गुरुङ लकडाउनका कारण कच्चा पदार्थ नपाएपछि भित्र बसेर गरिने काम बन्द भएको बताउँछन् । कच्चा पदार्थको अभावमा काम नभएपछि शारिरीक परिश्रम हुँदैन त्यसैले खेलमा व्यस्त हुन्छु उहाँको भनाइ छ । उहाँले भन्नुभयो “कारागारभित्र हुने काम भनेको बजारमा निर्भर हुने हो । अहिले बजार बन्द छ । सामान ल्याउन पाइएको छैन ।”

आफ्नो पकेट खर्च पु¥याउनका लागि मुढा कम्पनीमा काम गर्दै आएका सुमन थापा (क) (नाम थर परिवर्तित) यहाँ बसुञ्जेल घरबाट खर्च माग्न नपरेकोमा लकडाउनका कारण काम नभएपछि खर्च चलाउन समस्या भएको बताउनुभयो । लकडाउनका कारण बजारमा कच्चा पदार्थ अभाव भएका कारण भित्र बसेर गरिने काम अहिले बन्द भएको कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार लकडाउन हुनुभन्दा पहिले करिब ३०० कैदीबन्दी आत्मनिर्भर रहेको भए पनि उनीहरु अहिले खेलकूदमा रमाइरहेका छन् । काम नभएकाले कैदीबन्दीमा मनोबल नगिरोस् भन्ने उद्देश्यले कैदीबन्दी बीचमा नै विभिन्न प्रतियोगिता गर्ने गरिएको उहाँले बताउनुभयो । यसरी काम गर्ने कैदीबन्दीमध्ये करिब १०० जनाले यहीको कमाइले घर खर्चसमेत चलाउँदै आएका थिए । तीमध्ये अहिले गलैँचा बनाउने र बत्ती कात्ने कामबाहेक अन्य सबै बन्द रहेका छन् । गलैँचा बनाउने काममा ३२ पुरुष र वत्ती कात्ने काममा २५ महिलाले बाहेक अन्य सबै खेलकूदमा व्यस्त हुन्छन् ।

लकडाउनअघि यहाँका अधिकांश कैदीबन्दी मुढा, सुन चाँदीको काम, सिलाइकटाइ, पर्स बुन्ने काम, साडीको कडाइ गर्ने काममा व्यस्त रहने गरेका थिए । कारागार कार्यालय चितवनमा अहिले ५८ महिला र ६८१ पुरुष कैदी तथा बन्दी जीवन बिताउँदै आएका छन् । उनीहरुसँग तीन आश्रित बालबालिकासमेत रहेका छन् । कार्यालयको क्षमता महिलातर्फ २५ र पुरुषतर्फ २५५ जनाको रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !