८ पुस २०८१, सोमबार

कोभिड–१९ः बोगटान सडक निर्माणमा बन्यो बाधक


सडक निर्माण अलपत्र

डोटी, २४ वैशाख । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जिल्लाकै मेरुदण्ड मानिएको सहजपुर–बोगटान सडकको काम अलपत्र परेको छ ।

तीन दशकदेखि अलपत्र सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि लकडाउनका कारण बजारमा आवश्यक सामग्री उपलब्ध नहुनु र सबै कामदार आ–आफ्नो घरतर्फ गएका कारण उक्त सडक पुनः अलपत्र परेको हो ।

कैलालीको सहजपुरबाट डोटीको बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यअनुसार ठेकेदार कम्पनीले धमाधमरूपमा काम अघि बढाए पनि लकडाउनका कारण काम काम रोकिएको बताइएको छ । काम रोकिएपछि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ । भारत सरकारको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारले रु दुई अर्ब पाँच करोडमा उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो ।

कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपी नगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम धमाधम शुरु गरिए पनि गएको एक महिनादेखि सम्पूर्ण काम बन्द भएको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीकै प्रमुख योजनामा रहेको सहजपुर–बोगटान सडक समयमै पक्की हुन्छ भन्ने आशामा हामी खुशी भएका थियौँ, लकडाउनले सबै काम रोकियो, अब कहिले सम्पन्न होला अत्तोपत्तो छैन ।”

तोकिएको समयमै काम सम्पन्न गर्नुपर्ने शर्तसहित प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते सो सडकको कालोपत्र तथा चौडाइ निर्माणको शिलान्यास गर्नुभएको थियो । शिलान्यास गरिएसँगै तीव्रगतिमा अगाडि बढेको उक्त सडकको काम कोरोनाका कारण रोकिएपछि सडक कहिले सञ्चालन हुने हो भन्नेमा स्थानीयवासीमा चिन्ता थपिएको जोरायल गाउँपालिका–५ का लोकेन्द्रबहादुर छेडालले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको काम समयमै सकिए हाम्रा दुःखका दिन सकिन्छन् भन्ने सोचेका थियौँ, काम नै रोकियो, हाम्रा दुःख अझै जस्ताको तस्तै रहने भए ।”

भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले उक्त सडक कालोपत्र गर्ने जिम्मा दिएको थियो । जिल्लाको सबैभन्दा पुरानो कच्ची सडक शिलान्यास भएको ३३ वर्षपछि उक्त सडक अहिले आएर कालोपत्र हुन थालेको थियो, त्यही पनि रोकिएपछि दुखेसो पोख्दै चुरे गाउँपालिका शिवनगरका ७० वर्षीय दानबहादुर विष्टले भन्नुभयो, “जिल्लाको सबैभन्दा पुरानो सडक कालोपत्र होला र दैनिक गाडी गुडेको देखौँला भन्ने सोच थियो, त्यही पनि रोकियो, यहाँको विकास गर्नका लागि भए पनि सरकारले सडकको काम सञ्चालन गराउनुपर्छ ।”

सहजपुरबाट बडिकेदार गाउँपालिका हुँदै बोगटान गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने उक्त सडकको विसं २०४२ मा पहिलोपटक शिलान्यास भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीबाट विजयी हुनुभएका प्रतिनिधिसभाका सांसद प्रेमबहादुर आलेमगरको प्रत्यक्ष पहलमा उक्त सडक कालोपत्र हुन थालेको थियो । सहजपुर–बोगटान सडक निर्माणको काम तीव्रगतिमा अगाडि बढेरहे पनि कोरोनाका कारण बजारमा आवश्यक सामग्री खरिद तथा ढुवानी गर्न समस्या भएका कारण हाल रोकिएको उक्त सडकमा काम गरिरहेको माटो परीक्षण कन्सल्टटेन्सीका इञ्जीनियर राजकुमार पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमै काम सक्ने लक्ष्यअनुसार हामी हाम्रो काममा व्यस्त थियौँ, लकडाउनका कारण बाध्य भएर काम रोक्नुपर्ने भयो, काम रोकिँदा हामीलाई पनि दुःख लागेको छ ।”

बोगटान सडक निर्माणपछि स्थानीय कृषि उत्पादनले मूल्य पाउनेमा किसानहरूले आशा गरिरहेका थिए । बोगटान क्षेत्र कृषि उत्पादनका लागि उर्वर मानिन्छ । स्थानीय बासिन्दामा ३ वर्षपछि पुनः पलाएको आशा लकडाउनका कारण खेर जाने त होइन भन्ने चिन्तामा आफू रहेको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले बताउनुभयो । सो क्षेत्रका बासिन्दा कालोपत्र नहुँदा कच्ची सडकमा खचाखच भरिएर बसमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !