राजविराज, १५ वैशाख । लकडाउनका कारण एक महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण कार्य शुरु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेकोे लकडाउनमा पनि सुरक्षा सर्तकता अपनाएर सप्तरीको राजविराज–कञ्चनपुर सडक खण्डअन्तर्गतको हुलाकी सडक निर्माण कार्य शुरु गरिएको हो ।
कामदारबीच भौतिक तथा सामाजिक दूरी कायम राखी आवश्यक सुरक्षा सर्तकता अपनाएर काम शुरु गरिएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका आयोजना व्यवस्थापक कलियान गौतमले बताउनुभयो । बज्रगुरु कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएका राजविराज–कञ्चनपुर सडकअन्तर्गतको बनौलीदेखि सोनरा पकरीसम्मको तत्काल आठ किलोमिटरको हुलाकी सडकको निर्माण कार्य गर्न बाटोमा अहिले माटो दिएर मिलाउने काम शुरु गरिएको हो ।
तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी राजमार्गको निर्माण सडकमा अहिले माटो मिलान गर्ने काम तीव्र रुपमा थालिएको कम्पनीका व्यवस्थापक गौतमले जानकारी दिनुभयो । “सडक निर्माण शुरु भएको छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि काम शुरु भएको छ ।” प्रमुख जिल्ला अधिकारीसँग निरन्तर छलफलपछि निर्माण कार्य शुरु भएको उहाँको भनाइ छ ।
“सामाजिक दूरी कायम गरेर निर्माणस्थलमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “वर्षाअगावै सक्नुपर्ने सडकमा थुपारिएको माटोलाई अहिले धमाधम डोजर र जेसिबीबाट मिलाउने कार्य भइरहेको छ ।” लकडाउनको मौका छोपी यो सडकखण्ड सुधारको काम गर्न लागिएको बताउँदै उहाँले वर्षा शुरु हुनुभन्दा पहिला नै माटो मिलाउने र गिट्टी बिछ्याउने काम सम्पन्न गर्ने व्यवस्थापक गौतमले बताउनुभयो । लकडाउनको समयमा उक्त सडकमा अहिले मानिस र सवारी साधन कम चल्ने भएकाले पनि निर्माण काम गर्न सजिलो भइरहेको उहाँको भनाइ छ ।
हुलाकी सडक खण्डको बाटो टेढो होचो भएका कारणले पनि काम गर्न समस्या भइरहेको उल्लेख गर्दै उहाँले राजविराज–कञ्चनपुर सडक खण्डको अधिकांश ठाउँमा बिजुलीको पोल र पोलमा थुपारिएका तारसमेत समयमा नहटाएका कारण काम गर्न समस्या भइरहेको बताउनुभयो ।
त्यस्तै हुलाकी सडक खण्डको विभिन्न ठाउँमा नेपालकै पुरानो चन्द्रनहर भिडेका कारण पनि यसको निर्माणमा समस्या भइरहेको बताउँदै गौतमले भन्नुभयो, “चन्द्रनहरको पुरानो संरचनाअनुसार बाटो नछुट्याएकाले कहाँ कसरी बाटो बनाउने भने समस्या भइरहेको छ ।” लकडाउनका कारण चन्द्रनहर र हुलाकी सडकको नयाँ नक्सा अहिलेसम्म नआएका कारण पनि हुलाकी सडक निर्माणमा ढिलाइ भएको बताउँदै उहाँले समयमै हुलाकी सडक निर्माण गर्ने योजना रहेको छ भन्नुभयो ।
करिब रु ८४ करोड लागतमा राजविराज–कञ्चनपुर सडक खण्डको २० किलो मिटर हुलाकी सडक निर्माण थालिएको सो कम्पनीले जनाएको छ । हुलाकी सडकको अन्य ठाउँमा पनि लकडाउनको समयमा सामाजिक दूरी कायम गरी छिट्टै काम शुरु गरिने पनि गौतमले बताउनुभयो । तत्काल बनौलीदेखि सोनरा पकरीको खाडो नदीसम्म र त्यहाँदेखि राजविराजसम्मको सडकको निर्माण कार्य शुरु गरिने कम्पनीले जनाएको छ ।
हुलाकी सडक निर्माणको काम सन् २०२० सम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । तर अहिलेसम्म ५० प्रतिशत पनि काम हुन सकेको छैन । लकडाउनका कारण पनि विगत एक महिनादेखि काम प्रभावित भएकोे जनाइएको छ ।
लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा, गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेमा हामी छिट्टै कामलाई तीव्रता दिइने गौतमले बताउनुभयो । हुलाकी सडक निर्माणमा माटो र गिट्टी ढुवानीमा सहजता भयो भने यसको निर्माण कार्य छिटो छरितो गर्न सकिने कम्पनीले जनाएको छ ।