११ असार २०८१, मंगलबार

कर्मचारीलाई बीमासहित जोखिम भत्ता


health-bima

स्याङ्जा, १४ वैशाख । जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि मनोबल बढाउन सो सुविधा प्रदान गर्न लागिएको बताइएको छ । स्थानीय तहका कर्मचारीलाई जोखिम भत्तासहित बीमा सेवा सुविधा दिने निर्णय गर्दै सबै कर्मचारीलाई कोरोना भाइरसविरुद्ध आ–आफ्नो क्षेत्रबाट खट्न आग्रह गरिएको छ ।

स्थानीय तहले कर्मचारीका लागि तलब स्केलको ४० देखि ६० प्रतिशतसम्म सो भत्ता दिने निर्णय गरेका छन् । गत चैत १५ गतेदेखि लागू हुने गरी हेल्थ डेस्कमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, क्वारेन्टाइनमा खटिने कर्मचारी तथा अनुगमनमा खटिएका कर्मचारीलाई तलबको ६० प्रतिशत सुविधा थप दिने निर्णय भएको छ ।

त्यसैगरी कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको ज्यान गएमा उनका घरपरिवारलाई रु पाँच लाख बीमा दिइने भएको छ । यसबाहेक स्वास्थ्यचौकीमा खटिएका कर्मचारीलाई शुरुवाती तलबको ४० प्रतिशत सुविधा थप दिने निर्णय भएको पूर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

कोरोना जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसबाट प्रभावित क्षेत्रका स्थानीयवासीका लागि राहत सुविधा प्रदान गर्न ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी नमूना मापदण्ड–२०७६’ पनि स्थानीय तहले पारित गरेका छन् । यसका साथै कोरोना भाइरसको सामना गर्न सबै स्थानीय तहमा रहेका जनशक्तिलाई तयारी अवस्थामा रहन र आवश्यक परेको बेला उपस्थित हुनुपर्ने निर्णय गरिएको दीपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

राजमार्गभित्रका घरटहरा हटाउन आग्रह
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुल्पाते डोटीले यहाँका पहाडी राजमार्गका छेउमा अनधिकृत रुपमा निर्माण गरिएका घरटहरा भत्काउने तयारी गरेको छ ।

राजमार्ग कब्जा गरी घर टहरा निर्माण गरेका कारण सडक साँघुरो भएको भन्दै ती घरटहरा भत्काउने तयारी शुरु भएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुल्पाते डोटीले जनाएको छ । उक्त कार्यालयले एक सार्वजनिक सूचना प्रकाशित गरी सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने महाकाली राजमार्ग र सेती राजमार्गअन्तर्गतका सीमाभित्र पर्ने घरटहरा लकडाउनको समयावधिभित्रै हटाउन आग्रह गरेको छ ।

सार्वजनिक सडक सीमाभित्रका घरटहराका सामग्री हटाउन सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कुलपाते डोटीले १५ दिने सूचनासमेत जारी गरेको छ । तोकिएको समयमा घर नहटाउनेलाई कारवाही गरिने उक्त सूचनामा उल्लेख छ ।

सूचनामा महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको स्याउलेदेखि बागबजारसम्मको तीन किलोमिटर सडकको दायाँ–बायाँ २५÷२५ मिटर खाली गर्ने उल्लेख गरिएको छ । तोकिएको समयभित्र ती क्षेत्रका संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडक संरक्षणका लागि खाली गरिने कार्यालयले जनाएको छ ।

सडकमा भएका घरटहरा हटाउनका लागि जिल्ला समन्वय समिति, नगरपालिका स्थानीय सरकारको सहयोगले यो कार्यलाई अगाडि बढाउने सडक डिभिजन कार्यालय कुलपालेले जनाएको छ । मापदण्डअनुसार नभएका घर छिट्टै हटाउने प्रक्रिया अगाडि बढाउने योजनाअनुसार डडेल्धुरा जिल्लाको फल्टुडे, अनारखोली, स्याउले महाकाली राजमार्गमा २५ मिटर र सेती राजमार्गमा पर्ने विभिन्न गैरा, बुडरलगाएतका ठाउँमा १५ मिटर सडक चौडा गरिने भएकाले त्यहाँ भएका संरचना भत्काउन थालिएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुल्पाते डोटीका प्रमुख सुदर्शन कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहाडी राजमार्गका सडक चौडा पार्ने योजना अनुसार हामी लागि परेका छौँ, राजमार्गमा अनधिकृत संरचना निर्माण भएकाले हटाउने तयारीमा छौँ, अनधिकृत संरचना छिट्टै खाली गर्छौं ।” त्यसैगरी कार्यालयमा १० जना सवओभरसियर हुन पर्नेमा चारजना र चारजना इन्जिनीयरको दरबन्दीमा दुईजना मात्रै भएको र जनशक्ति अभाव भएकाले काम गर्न केही समस्या भएको उहाँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !