२ कार्तिक २०८१, शुक्रबार

खेर गइरहेको करोडौँको वनपैदावार


सामुदायिक वन

भद्रपुर, ८ वैशाख । झापाका सामुदायिक वनले ढलेका र सुकेका रुख निकाल्न नपाउँदा करोडौँको वनपैदावार खेर गइरहेको छ ।

सरकारले कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनेर बन्दाबन्दीमा जङ्गल प्रवेशमा समेत रोक लगाएको छ । जेठ १५ गतेसम्ममा वनभित्रको ढलापडा रुखको कटान, मुछान र दाउरा सङ्कलन, घाटगद्दी गरिसक्नुपर्ने वार्षिक कार्ययोजनामा उल्लेख छ । वन पस्न नै नपाइने भएपछि यसपटक कार्ययोजना बमोजिम काम गर्न नपाएको सामुदायिक बनले जनाएको छ ।

सामुदायिक वन राष्ट्रिय उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य सङ्गीता थापाले झापाका सामुदायिक वनले वन पैदावर कटान मुछान गर्न नपाउँदा यसवर्ष ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

उहाँले भौतिक दूरी कायम गर्दै कोभिड–१९ को सङ्क्रमणबाट जोगिने उपायसहित वन क्षेत्रमा वार्षिक कार्ययोजनाअनुरुप कटान मुछान फुकुवा गरिदिनुपर्ने माग गर्नुभयो । नियमसङ्गत रुपमा ढलापडा रुख सङ्कलन गर्न नदिइएका कारण बन्दाबन्दीको मौका छोपेर वनमा चोरी तस्करी फस्टाइरहेको उहाँले बताउनुभयो ।

झापामा ५९ वटा सामुदायिक वन रहेको र तीमध्ये कनकाई नगरपालिकामा रहेको प्रजापति र कचनकचल गाउँपालिकाको दुर्गाबिटा सामुदायिक वनले मात्र बन्दाबन्दी शुरु हुुनुअगावै कटान मुछानको काम सम्पन्न गरेको सामुदायिक वन महासङ्घ झापाका जिल्ला अध्यक्ष बेदप्रकाश भण्डारीले जानकारी दिनुभयो ।

“राज्यको ठूलो सम्पत्ति सामुदायिक वन हो”, उहाँले भन्नुभयो, “तर सरकारले समुदायमैत्री नीति नअपनाउने हो भने झापाका हरेक सामुदायिक वनले सरदर रु २० लाखको स्रोत गुमाउने स्थिति छ ।” उहाँले सामुदायिक वनमा उपभोक्तालाई बन्दाबन्दीको अवस्थामा वनपैदावार स्याहार्न रोक्ने हो भने तस्करको रजाई हुने बताउनुभयो ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिरा पोखरेलले बन्दाबन्दीको समयमा तस्करबाट वन जङ्गल जोगाउन मुस्किल परेको बताउनुभयो । “महामारी फैलिएको छ सरकारले घरबाट बाहिर ननिस्कन भन्दै बन्दाबन्दी गरेको छ”, उहाँले भन्नुभयो, “आँखा झिमिक्क गरिसक्दा तस्करले काठ उठाइहाल्छन् ।”

उहाँले सामुदायिक वनमा यतिबेला मान्छेको अनाधिकृत चहलपहल बढेको बताउनुभयो । उहाँका अनुसार निगुरो टिप्ने, सिमसार क्षेत्रमा माछा मार्ने, वन्यजन्तु र काठ चोरी तस्करी गर्नेसँगै युवायुवतीको डेटिङस्थलसमेत वन क्षेत्र नै भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जिल्ला प्रशासनसँग समन्वय गरेर ढलापडा रुखको कटानमुछान कार्य गर्ने बारेमा छलफल चलाउन सकिने बताउनुभयो । बन्दाबन्दीको अवस्थामा मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने आदि पालना गर्दै वन संरक्षणको कार्य गर्नका लागि पहल गरिने उहाँले बताउनुभयो ।

तर वार्षिक कार्ययोजनाअनुसार कात्तिकमा खुला भएको रुख कटानमुछानको काममा सामुदायिक वनहरु आफैँले ढिलाइ गरेको उहाँले बताउनुभयो । उहाँले झापाका आधाभन्दा बढी सामुदायिक वन समितिहरुले वार्षिक कार्ययोजना बमोजिम डिभिजन वन कार्यालयबाट सङ्कलन अनुमति लिन नआएको समेत जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !