९ मंसिर २०८१, आइतबार

भिडियो कन्फरेन्समार्फत कोभिड–१९ जोखिम नियन्त्रण छलफल


कोरोना भाइरस

मेलम्ची, १ वैशाख । नेपाली काँग्रेस सिन्धुपाल्चोकले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि र अगुवा कार्यकताबीच नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना तथा कोभिड–१९ को जोखिम हुन नदिन भिडियो कन्फरेन्समार्फत अन्तक्र्रिया गरेको छ ।

आज सम्पन्न अन्तक्र्रियामा अगुवा कार्यकर्ताले कोभिड–१९ को जोखिम नियन्त्रण, रोकथाम तथा उपचारका लागि आ–आफ्नो क्षेत्रमा गरिएका प्रयास, जनप्रतिनिधिले स्थानीय तहमा निर्वाह गरेको भूमिका र आगामी दिनका रणनीतिक बारेमा रिपोटिङ गरेका काँग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । पार्टीको केन्द्रले गत चैत २४ मा जिल्लामा सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयासका सम्बन्धमा अनुगमन गर्न निर्देशन दिएको थियो ।

अनुगमनका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि र पराजित उम्मेदवारलाई विषेश जिम्मेवारी दिएको थियो । इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले पार्टीले आफूसित स्थानीय तहमा गरेका गतिविधिबारे बारे जानकारी लिएको बताउनुभयो । उहाँले कोरोनाको जोखिम हुन नदिन गाउँपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताउनुभयो ।

अन्तक्र्रियामा कोरोना भाइरस जोखिम हुन नदिन भएका प्रयास, अपनाउनुपर्ने सावधानी, अलपत्र परेका मजदूरको उद्धार र राहत, पार्टी कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिका मुख्यरुपमा छलफल भएको थियो ।

काँग्रेस महासमिति सदस्य जिम्मी लामाले सो कन्फरेन्सको प्राविधिक संयोजन गर्नुभएको थियो । अन्तक्र्रियामा पार्टीका जिल्ला समिति सदस्य, भ्रातृ तथा शभेच्छुक संस्था तथा स्थानीय तहका पदाधिकारीको सहभागिता थियो ।

रु २५ लाखको राहत कोष
कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि मेलम्ची नगरपालिकाले रु २५ लाखको राहत कोष स्थापना गरेको छ । कोषमा केही बैंक तथा सहकारीले पनि सहयोग गरेको नगरप्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । नेपाल बैंक लिमिटेड, मेलम्ची शाखाले रु ३५ हजार ८२ जम्मा गरेको छ ।

“पालिकाको विपत् व्यवस्थापन कोषमा ७० लाख छ तर कोरोना नियन्त्रण र रोकथामका लागि मात्रै अहिले रु २५ लाखको राहत कोष खडा गरेका छौँ सहयोग गर्न चाहनेले राहत कोषमा रकम जम्मा गर्न सक्नुहुनेछ”, उहाँले भन्नुभयोे ।

नगरपालिकाले २७ श्ययाका क्वारेन्टाइन निर्माण गरेको छ । ती मध्ये रिभर रिसोर्ट होटलमा २२ श्यया र नगरपालिकाको नयाँ बनेको भवनमा पाँच श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । रिभर रिसोर्ट होटलमा बनेको क्वारेन्टाइनमा सबै सुविधा रहेको छ । त्यहाँ खाना र सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

“कोठा पनि प्रयोग गर्ने हो भने ५० जना जति राख्न मिल्छ ।” नगरपालिकाका अन्य वडामा पनि क्वारेन्टाइन बने पनि त्यसलाई आफूले मान्यता नदिएको नगरप्रमुख अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“क्वारेन्टाइन भनेर श्यया मात्रै राखेर भएन । त्यसमा खान, बस्न र स्वाथ्यकर्मीको्समेत व्यवस्था हुनुपर्छ अन्य वडामा बनेका क्वारेन्टाइन व्यवस्थित छैनन् ।” तर क्वारेन्टाइनमा अहिलेसम्म एक जना पनि छैनन् ।

नगरपालिकाले चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । एउटा एम्बुलेन्स कोरोनाको आशङ्का गरिएका बिमारी बोक्नका लागि ‘शिल’ गरिएको प्रमुख अर्यालले जानकारी दिनुभयो । अन्य तीन वटा एम्बुलेन्स भने अन्य बिमारीका लागि प्रयोग गरिनेछ ।

एम्बुलेन्स चालकलाई आवश्यक सुरक्षा सामग्री नगरपालिकाले नै उपलब्ध गराएको छ । केही दिनअघि जिल्ला समन्वय समितिले पनि जिल्लामा सञ्चालित एम्बुलेन्सका चालकलाई सुरक्षा सामग्री प्रदान गरेको थियो ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि नगरपालिकमा २० वटा पिपिई सेट छन् । ती क्वारेन्टाइनमा प्रयोग गरिने छैन । आएसोलेसनमा गएपछि त्यो धेरै आवश्यक हुने हुनाले आगामी दिनमा सङ्क्रमणको अवस्थालाई मध्यनजर गरी केही सेट पिपिई थप्ने तयारीमा नगरपालिकाको छ ।

“सजिलै उपलब्ध छैनन् केही पिपिई सेटको जोहो गर्न प्रयासरत छौँ तर राम्रो पाएका छैनौँ”, नगर प्रमुख अर्यालले भन्नुभयोे । आवश्यक सामान्य औषधि नगरपालिकाले व्यवस्थापन गरेको छ ।

नगरपालिका अन्तर्गत १६ स्वास्थ्यचौकी र एउटा अस्पताल छ । पाँच जना चिकित्सकको दरबन्दी छ । केही समयअघिसम्म पाँच जना चिकित्सक थिए । दुई जनाले स्थायीमा नाम निकालेपछि अहिले तीन जना मात्रै चिकित्सक छन् । दरबन्दीअनुसारको चिकित्सक पठाइदिन स्वास्थ्य विभागमा जानकारी गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र ४२ जना विदेशबाट आएका छन् । उनीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् । युरोप, अमेरिका, खाडी देश र भारतबाट नेपाल आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !