मार्तडी, २४ चैत । कोरोना भाइरस, (कोभिड –१९ )को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेकपछि यहाँस्थित बडिमालिका नगरपालिकाले अति विपन्न परिवारका लागि राहत घोषणा गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन गुजारा गर्ने परिवारका लागि राहतको व्यवस्था गरेको नगर प्रमुख पद्म बडुवालले जानकारी दिनुभयो ।
आइतबार बसेको नगर कार्यपालिकाको बैठकबाटै राहतका प्याकेज उपलब्ध गराउने निर्णय गरेको थियो । चार जनासम्मको परिवारका लागि ३० केजी चामल, दुई केजी दाल, दुई केजी नून, दुई लिटर तेल, दुई केजी चिनी र दुई वटा साबुन प्रदान गरिने जनाइएको छ ।
नगरभित्रका नौवटै वडामा बसोबास गर्ने ज्याला मजदूरी गरी खाने परिवार, अति विपन्न परिवार र एकल महिला तथा वृद्धवृद्धा मात्र भएको घरको पहिचान गरी राहत दिने निर्णय नगरपालिकाले गरेको छ । लकडाउनको समयमा पर्न गएको असुविधा र असहजतालाई सम्बोधन गर्न नगरपालिकाले राहत प्याकेज ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले जानकारी दिनुभएको छ ।
उहाँले नगरपालिकाका करिब २० हजारको हाराहारीमा जनसङ्ख्या रहेको नगरपालिकाभित्रका प्रत्येक वस्तीमा गइ वडाध्यक्ष संयोजक रहेको समितिले घरधुरी पहिचान गर्ने र त्यसैका आधारमा राहत उपलब्ध गराउने बताउनुभयो ।
नगर क्षेत्रका सबै परिवारलाई राहत दिन सम्भव पनि नहुने र आफ्नो हैसियतामा बाँच्ने परिवार पनि रहेकाले पहिचानका आधारमा राहत दिने नगर प्रमुख बडुवालको भनाइ छ । तत्कालको सङ्कट समाधान गर्नतर्फ सबैले सोच्ने बेला भएकाले भोलि के गरौँला भनेर चिन्ता नलिन पनि उहाँले आग्रह गर्नुभएको छ ।
भोकले मर्ने अवस्था आउन नदिने गरी नगरपालिकाले तयारी गरेको र खाद्यान्नसहितका सामग्री प्रत्येक वडासम्म ढुवानी व्यवस्थापनसमेत नगरपालिकाले गर्ने नगर उपप्रमुख कविता विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी रहेमात्र सम्पत्ति चाहिने हो, हामी नै छैनौँ भने केही हँुदैन, त्यसैले पहिले आफू बाँच्ने र अरुलाई बचाउन लाग्नुहोस्, खान नपाएर भोकै बस्नुप¥यो भन्ने अवस्था आउन नदिने राहत घोषणा गरिएको हो ।”
नगरपालिकाले तत्कालका लागि रु २४ लाख बराबरको आपत्कालीन राहत कोष निर्माण गरेको र थप आवश्यक परेमा अन्य विकास निर्माणका योजनाको बजेटलाई पनि रकमान्तर गरेर कोरोना जोखिमका विरुद्ध खर्च गर्ने नगरपालिकाले जनाएको छ । राहत प्याकेज नै घोषणा जिल्लाका नौ वटा नगरपालिकामध्ये बडिमालिकाले मात्र गरेको छ । नगरपालिकाभित्र जिल्ला अस्पतालसहित १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको र क्वारेन्टाइनका लागि सार्वजनिक विद्यालय तथा अन्य संरचनाको प्रयोग गर्ने गरी काम थालनी गरेको छ ।
सरकारले समस्या र अभावको अवस्था बुझेर आवश्यक राहतका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई अनुमति दिएको छ । तत्काल निर्माण बजेटबाहेक तालिम गोष्ठीसहितका प्रवद्र्धनात्मक क्षेत्रको बजेटलाई रकमान्तर गरेर जनतालाई राहत उपलब्ध गराउन निर्देश गरेको छ । साथै सरकारले व्यक्तिका नाममा गरिएका प्रचारमुलक सहयोग रोक्न पनि स्थानीय तहलाई निर्देशन गरिसकेको छ ।
खाद्यान्न सहयोग
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले अतिविपन्न समुदायका दलित, एकल महिला तथा अनाथ बालबालिकालाई राहतस्वरुप खाद्यान्न सहयोग गर्नुभएको छ । उहाँले लकडाउनको असुविधालाई ध्यानमा राखेर व्यक्तिगत पहलमा गृहजिल्लाका अतिविपन्न र अनाथ बालबालिकालाई राहत सामग्री सहयोग गर्नुभएको हो ।
त्रिवेणी, बूढीगङ्गा र बडिमालिका नगरपालिकाका विपन्न दलित तथा एकल महिला र अनाथ बालबालिकालाई सहयोग गरेको मन्त्री शाहका प्रमुख स्वकीय सचिव जङ्ग विकले जानकारी दिनुभएको छ । प्रतिपरिवारलाई प्रतिपोकामा पाँच केजी चामल, दुई केजी दाल, एक केजी नून, एक लिटर तेल र एक पोका चिउरासहित १० केजी बराबार खाद्यान्न सहयोग गरिएको हो । मन्त्री शाहको पहलमा प्राप्त खाद्यान्न सामग्री बडिमालिका नगरपालिकाका ४३ जना एकल महिलालाई १० केजीका दरले चार क्विन्टल ३० केजी खाद्यान्न हस्तान्तण गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिनुभयो ।
यस्तै बडिमालिका– २ भौनेरामा रहेको सत्य माविमा अध्ययनरत अनाथ बालबालिकासहित आठ परिवारलाई १० केजीका दरले ८० केजी हस्तान्तरण गरिएको वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ । यस्तै त्रिवेणी नगरपालिका तोलीमा रहेका अतिविपन्न ४० दलित परिवारलाई १० केजीका दरले चार क्विन्टल खाद्यान्न सहयोग गरिएको छ ।
यस्तै बूढीगङ्गा नगरपालिका बाह्बिसमा बस्ने एक वादी र एक मगर परिवारलाई १० केजीका दरले २० केजी खाद्यान्न सहयोग गरिएको छ । सोही नगरपालिका–६ का ५० परिवार दलित समुदायलाई १० केजीका दरले पाँच क्विन्टल खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष गणेश थापाले बताउनुभयो ।
यस्तै सोही नगरपालिका–२ ब्रह्मतोलामा रहेको अनाथ बालबालिकाको संरक्षण दिइरहेको कन्सन बाजुरामा १० केजीका ४५ पोका खाद्यान्न सहयोग गरिएको छ । यसैगरी व्यक्तिगत पहलमै स्वास्थ्य कार्यालय बाजुरामा चार वटा पिपीइ सेट पनि सहयोग गरेको जनाइएको छ ।