१४ मंसिर २०८१, शुक्रबार

अलपत्र श्रमिकलाई घर फिर्ता गरिने


मेलम्ची, १८ चैत । कोरोना भाइरस (कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीका लागि आएका श्रमिकहरुलाई सुरक्षित रुपमा घर फिर्ता गरिने भएको छ ।

अन्य जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरी गर्न आएका र जिल्लाबाट अन्यत्र गएका श्रमिकहरुलाई स्थानीय सरकारको समन्वयमा पास उपलब्ध गराएर घर फिर्ता गर्ने निर्णय भएको छ । जिल्लामा गठित कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा गठित कमाण्ड फोर्सले यस्तो निर्णय गरेको फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

अन्य जिल्लाबाट आएका मजदूरहरुलाई स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र अन्य जिल्लामा जाने मजदूरहरुका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलनपछि स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनका आधारमा सम्बन्धित जिल्लामा फर्काइने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

लकडाउनपछि खाद्यान्न, ग्यासलगायत अति आवश्यक सामग्रीको ढुवानी र वितरणका लागि उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर वितरण गर्ने र त्यसको अनुगमनका लागि समितिसमेत गठन गरिएको छ । सबै स्थानीय तहमा स्थापना गरिने क्वारेन्टाइनको अनुगमन र दैनिक प्रतिवेदनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

पाँच पालिकामा आइसोलेशन कक्ष
जिल्लाका पाँच स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिएको छ । मेलम्ची, बाह्रविसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा बलेफी र इन्द्रावती गाउँपालिकाका साथै सिन्धु सदाबहार अस्पतालमा आइसोलेशन कक्ष निर्माण गरिएको हो ।

मेलम्ची नगरपालिकामा चार शय्याको आइसोलेशन र ३० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । त्यस्तै इन्द्रावतीमा ६, बाह्रविसेमा ९ र सिन्धु सदाबहार अस्पतालमा ८ शय्याको आइसोलेशन कक्ष निर्माण भएको छ । बलेफी गाउँपालिकामा २ शय्याको आइसोलेशन कक्ष र १६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ भने जिल्लाको हेलम्बुमा २०, पाँचपोखरी थाङ्पालमा २०, चौतारामा १४, त्रिपुरासुन्दरीमा २४, लिसंखुपाखरमा १० र सुनकोशीमा २८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको जुगल र भोटेकाशी गाउँपालिकामा अझैसम्म आइसोलेशन कक्ष र क्वारेन्टाइन निर्माण हुन नसकेको जनाइएको छ ।

राहत कोषमा रु २० लाख
भोटेकोसी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, उपचार तथा उद्दारका लागि रु २० लाखको ‘गाउँपालिका स्तरीय कोरोना राहत तथा उद्दार’ कोष स्थापना गरेको छ ।
कोषमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगततर्फबाट रु एक लाख एक हजार एक सय ११ जम्मा गर्नुभएको छ । उहाँले यो कोषमा रकम जम्मा गर्न सबैमा आग्रह गर्नुभएको छ । यसका लागि सो गाउँपालिकाको कोरोना राहत तथा उद्दार कोषको नाममा नेपाल बङ्गलादेश बैंक लि.तातोपानी शाखामा रहेको खाता नं ०९२०००१२४१ मा रकम जम्मा गर्न सक्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

‘डिसइन्फेक्टन्ट’ औषधी छर्किएर सचेतना अभियान
कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिन नदिन इन्द्रावती गाउँपालिकाले ‘डिसइन्फेक्टन्ट’ औषधी छर्किएर सचेतना अभियानलाई अगाडि बढाएको छ ।

वडापिच्छैका स्थानीय र यात्रुको स्वास्थ्य परीक्षण गर्दै गाउँपालिकाले नवलपुरबाट किटनाशक औषधी छर्ने अभियानलाई व्यापक बनाएको छ । जिल्लाको सदरमुकाम चौतारादेखि मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकासम्म जोड्ने इन्द्रावतीको १२ वटै वडामा किटनाशक औषधी छर्किन थालिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।

“गाउँपालिका क्षेत्रभर नै कोरोना सङ्क्रमणविरुद्धको सचेतना अभियानलाई व्यापक बनाएका छौं । यसकै पूर्वसावधानीका लागि ‘डिस–इन्फेक्टन्ट’ औषधी छर्किरहेका पनि हांै, यसलाई निरन्तरता दिनेछौं”, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !