८ पुस २०८१, सोमबार

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग


कोरोना भाइरस

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग गर्नुभयो । नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र सङ्क्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेका कुरालाई सरकारले कडाइका साथ हेर्न ध्यानाकर्षण गराउनुभयो ।

उहाँले खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गर्नुभयो । नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो । सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिङ्गो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !