३ असार २०८१, सोमबार

श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने


नइ अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, २७ फागुन । नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई रु दुई लाखसहित ’नइ देरूनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ ।

विसं १९९३ देखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ’उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो । सोही पत्रिकामा प्रा.डा.ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए । काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसादबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ ।

श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ’आमा’को पटकथा र सम्वाद लेख्नु भएको थियो । हिरासिंह खत्रीद्वारा निर्देशित आमाको उहाँ सहायक निर्देशक पनि हुनुहुन्थ्यो । शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नौ बालबालिका समेत २६ लाई रु १४ लाख र ताम्रपत्रसहित नइ पुरस्कार समर्पण गरिने भएका छन् ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !