५ जेष्ठ २०८१, शनिबार

पोखरा लेखनाथ महानगरको मेयरमा एमालेको जित सुनिश्चित, कांग्रेसद्वारा हार स्वीकार


Man-bahadur-gc

कास्की, जेठ ११ – पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित लगभग सुनिश्चित भएको छ ।

कुल खसेको मत मध्ये ८६ प्रतिशत मत गणना सम्पन्न भइसकेको छ । ३३ वडामध्ये २९ वडाको मत परिणाम आउँदा जिसी कांग्रेसका उम्मेद्वार रामजी कुँवर भन्दा ११ हजार ९ सय २ मतले अघि हुनुहुन्छ ।

एमाले उम्मेद्वार जिसीले ५१ हजार २ सय १७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका कुँवरले ३९ हजार ३ सय १५ मत प्राप्त गर्नुभएको छ । अब ४ वटा वडाको १८ हजार ७ सय २७ मतको परिणाम आउन बाँकी छ । वडा नम्बर ३० मा ४ हजार ७ सय ४३, वडा नम्बर ३१ मा ३ हजार ९ सय २१, वडा नम्बर ३२ मा ४ हजार ५ सय ८५ र वडा नम्बर ३३ मा ५ हजार ४ सय ७८ मत खसेको छ ।

यसैबिच कांग्रेसका मेयरका उम्मेद्वार रामजी कुँवरले पनि हार स्वीकार गर्नुभएको छ । उहाँले अब जित्ने सम्भावना नरहेको बताउँदै जितको नजिक रहेका एमाले उम्मेद्वार मानबहादुर जिसीलाई बधाई दिनुभएको छ ।

मत परिणाम आउन बाँकी ४ वटा वडा मध्ये पनि वडा नम्बर ३१ र ३३ मा एमालेलाई निकै बलियो रुपमा हेरिएको छ । ३० र ३२ मा भने प्रतिस्पर्धा हुने देखिएको छ । त्यसैले कुँवरको जित अनिश्चित रहेको छ ।

कुवँरले कांग्रेसका बलियो क्षेत्र भनेर चिनिएको वडा नम्बर १ देखि १५ सम्म अग्रता लिन नसक्दा नै हारको पूर्व संकेत रहेकाले अबको वडामा कुनै आशा नै नरहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !