८ मंसिर २०८१, शनिबार

भत्किएका छाउगोठभित्र नभत्किएका मन


हेमन्त केसी, जाजरकोट, २२ पुस । जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिक्नुभएको थियो ।

पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ । अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन् । गाउँमा पढे, लेखेका युवाहरु यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ता अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै कुसंस्कारको जगेर्नातर्फ उन्मुख भएको झीनो स्वरहरु मसिनो रुपमा उठाउँदै आएका छन् ।

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काए पनि घरभित्र चुलो रहेको र देवता ध्वजापताका भएको ठाउँमा भने महिनावारी हुँदा जान नपाउने बाध्यता अझै कायम रहेको छ । विद्यालयमा पढाउने शिक्षकले विद्यालयमा कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन ? जुनिचाँदे गाउँपालिका–७ का रामबहादुर खड्काले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा सोच, विचार र संस्कारहरु बदल्न आत्मदेखि आनीबानी बदल्न जरुरी छ, शिक्षक आफँै धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ ? ।”

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन । छाउगोठ भत्काउन शुरु गरेपनि मानिसभित्र रहेको कुसंस्कारभित्र रुमलिएका चेतना परिवर्तन नभएसम्म महिनावारी हँुदा भान्सा बस्न नपाउने, दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहेको छ । अहिले पनि छाउगोठ भत्किए तर आमनागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन् । जसकारण महिलाहरु दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ ।

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाउन ।” उहाँ जस्तै अधिकांश गाउँका महिलाहरु पुरुषका कारण हेपिएका छन् । उनीहरु सामाजिक कुसंकारका रुपमा रहेको परम्परालाई तोड्न खोज्दा अलछिना भनेर पगरी गुथाएर अपहेलना हुँदै आएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ का शिक्षिका नन्दा शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्पराका नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ ।”

राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारवाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहारहरु हटाउनका लागि जनकारवाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो । उहाँले अहिले समाज खुल्ला छ, जसले जे गरे पनि मतलब छैन भन्नुभयो । कुसंस्कारको विरुद्धमा बोल्ने जो कोही अहिले परम्पराको विरोधी देखिन्छ , त्यसैले सबैजना सङ्गठिन भएर गलत संस्कारका विरुद्ध एकजुट भएर लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ । जाजरकोट, डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !