३ असार २०८१, आइतबार

सुब्बाको पद वैकल्पिकमा नाम निकाल्नेसँग पैसामा साट्दै खरिदारमा जागिर खाएपछि…


लोक सेवा आयोग

४ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका हुन् ।

‘लोकसेवा जाँच दिने पेसेवर नै छन् जो पटक–पटक नाम निकाल्छन्, तर जागिर खाँदैनन्,’ सचिव गुरागाईंले भने, ‘कारण के रहेछ भनेर खोज्दै जाँदा त वैकल्पिकसँग रकम लिने रहेछन् । पास भएको व्यक्तिले नियुक्ति नलिएपछि वैकल्पिक जागिर खान पाउने भयो । यस्तो सेटिङ हुँदोरहेछ ।’

लोकसेवामा आठपटकसम्म नाम निकालेर नियुक्ति नलिएको केस पनि भेटिएको उनले बताए । सचिव मैनालले लोकसेवा नतिजाको किनबेचको थप उदाहरण पेस गरे । ‘धादिङमा एउटा केटोले सुब्बामा नाम निकाल्यो, तर नियुक्ति लिएन । पछि काठमाडौँ आएर खरिदारमा जागिर खायो,’ उनले भने, ‘किन रहेछ भनेको त सुब्बाको पद वैकलिप्कमा नाम निकाल्नेसँग पैसामा साटेको रहेछ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !