४ मंसिर २०८१, मंगलबार

दुई हजार बोतल च्याउको बीउ उत्पादन


Nepalpatra

३१ वैशाख, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ ।

प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो ।

उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताउनुभयो ।

च्याउको बीउको माग अधिक छ उहाँले भन्नुभयो “कार्यालयको बजेटले धान्दैन ।” चालू आवमा च्याउको बीउ उत्पादनका लागि रु एक लाख २० हजार बजेट विनियोजन गरिएको थियो । बीउ उत्पादनका लागि विनियोजन गरेको बजेट केमिकल, कल्चर गर्ने कार्य, गहुँको बीउ खरिद गर्नेलगायतमा खर्च हुने गरेको छ ।

यहाँ उत्पादित च्याउको बीउ प्रदेश नं ७ को पहाडी जिल्लासहित तराईका कैलाली कञ्चनपुरमा खपत हुने गरेको छ । प्रयोगशालाले उत्पादन गरेको बीउको प्रयोग गरी मौसमी र बेमौसमी रुपमा व्यावसायिक खेती गर्ने किसानको संख्या यहाँ बढ्दो छ । गत आवमा प्रयोगशालाले दुई हजार बोतल च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिइएकोमा चार हजार २४२ बोतल च्याउको बीउ उत्पादन गरेको थियो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !