१८ असार २०८१, मंगलबार

मोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री पण्डित


lalbabu

२५ वैशाख, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणलाई पूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक तयारी गरिसकेको बताएका हुन् ।

उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण सफल बनाउनको लागि सरकार, यहाँका वैधानिक राजनीतिक दलहरु, सामाजिक संघ÷संस्थाहरु सक्रिय भएर लागिपरिरहेका छन्, अहिले हामी उहाँको भ्रमणको व्यवस्थापन गर्न अहोरात्र खटिरहेका छौं, वास्तवमै भन्ने हो भने एक हिसावले तिव्र रफ्तारमा काम भैरहेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘मोदीजी भ्रमणको सिलसिलामा जहाँ–जहाँ जानुहुन्छ, त्यहाँ–त्यहाँ अहिले विशेष तयारी भैरहेका छन्, विशेषगरि सजावटका कामहरु धमाधम भैरहेका छन्।’ मोदीलाई जनकपुर विमानस्थलमा नेपाल सरकारका बरिष्ठ मन्त्रीले स्वागत गर्ने उनले जनाए । त्यस्तै जनकपुरको जानकी मन्दिरमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा पूजा गर्ने कार्यक्रम रहेको पनि मन्त्री पण्डितले बताए ।

भ्रमणको दौरान राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर द्धिपक्षीय हितका विषयमा कुराहरु हुने पनि उनले जनाए । त्यस्तै उनले मोदीसँग राजनीतिक भेटघाटहरुपनि हुने बताए । नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण जसरी सफल भएको थियो, ठिक त्यसैगरि मोदीको नेपाल भ्रमणलाईपनि सफल बनाउन आफूहरु लागिपरिरहेको उनको विश्वास थियो ।

मन्त्री पण्डितले मोदीको भ्रमणसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने स्पष्ट पारे । ‘नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप सकारात्मकताको सुरुवात हुन्छ’ उनले थपे,‘भारतका प्रधानमन्त्री आउनुभयो भन्दैमा हामी हरेक कुरा उहाँले गरिदिनुपर्छ भनेर ठूलो लिष्ट लिएर बस्दैनौं, र मलाई अहिलेसम्म त्यस्तो लिष्ट बनेकोपनि थाहा छैन।’ मोदीको भ्रमणको दौरानमा बडो सौहार्दपूर्ण कुराकानीहरु हुने पण्डितको विश्वास छ ।

मोदीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध उच्च स्तरमा पुग्ने बताउँदै पण्डितले भने,‘सकारात्मक भविष्यको लागि सकारात्मक कुराहरु हुन्छन्, विगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा हामी जोड दिन्छौं।’ भ्रमणको दौरान नेपाल र भारतबीच रहेको १९५० को सन्धि र सिमा विवादबारेपनि छलफल हुन सक्ने पण्डितले जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !