१२ वैशाख, काठमाण्डौ । नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ ।
विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई मंगलबारदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको जानकारी दिनुभयो । सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएकाे नेउपानेले बताउनुभयाे ।
यस्तै प्रहरीले उपत्यका बाहिर १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ ।
विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको [email protected] मा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ । (रासस)