१५ असार २०८१, शनिबार

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु


१८ चैत, बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका अध्यक्ष एवम् इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताए ।

“हामी सबै हिसाबले तयारी अवस्थामा छौँ”, उनले भन्नुभयो, “दुई साताभित्रै परीक्षण प्रसारण शुरु हुन्छ ।” १५ दिन परीक्षण प्रसारण भएपछि आयोजनाबाट व्यावसायिक उत्पादन शुरु हुने उनको भनाइ छ । आयोजनाबाट निस्कने विद्युत् अस्थायी रुपमा बागलुङ नगरपालिका–१२ टुनीबोटबाट केन्द्रीय प्रसारणमा जोडिनेछ ।

रु ३४ करोड ५० लाखको लागतमा निर्मित आयोजनाबाट न्यूनतम ५०० किलोवाटदेखि १.५ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । सुख्खा याममा पानीको सतह घट्ने हुँदा उत्पादन पनि कम हुने इन्जिनियर अधिकारीले बताए ।

बागलुङ जिल्लाभरिको मागको ४० प्रतिशत माग आयोजनाबाट उत्पादित विद्युत्ले धान्ने जनाइएको छ । दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दी जस्ता कारणले पछि धकेलिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !