५ जेष्ठ २०८१, शनिबार

रिपोर्टर्स क्लब नेपालद्धारा १३ जना पत्रकार पुरस्कृत


subash-dhakal

१८ चैत, काठमाण्डौ  । रिपोर्टर्स क्लब नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित ‘साप्ताहिक’का प्रधान–सम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।

नेपाली राजनीतिका महानायक नेपाली काँग्रेसका पुर्व सभापति, पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापीत यो पुरस्कार तीन दशकभन्दा बढिदेखि पत्रकारितामा शक्रिय पत्रकार ढकाललाई प्रदान गरिएको हो ।

रिपोर्टर्स क्लब नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शार्मा ओलीले पुरस्कार अर्पण गरेका हुन् ।

यसअघि यो पुरस्कार बरिष्ठ पत्रकार हरिहर विरही, अमित ढकाल, कविर राणा र गुणराज लुँईटेललाई प्रदान गरिएको थियो ।

यसैगरी यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशकएवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशलवक्ता एमालेका पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ । श्रेष्ठ विगत चार दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् । क्लबले पहिलोपटक यो पुरस्कार वितरण गरेको हो ।
यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ ।

आचार्यलाई प्रदान गरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । आचार्य विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी राजधानी दैनिकमा प्रमुख सम्वाददाता हुँदै अहिले कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

यसैगरी यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलिप थापा मगरलाई प्रदान गरिएको छ । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थापालाई दिइने यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरि कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाईम्सका विशेष सम्वाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २० हजार रुपैयाँ छ । सापकोटा लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।

यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।
साउदलाई प्रदान गरिएको यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । साउद लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।

यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रंदान गरिएको छ । राजनीतिक संक्रमणकाल, भुकम्पलगायतका कठिन घडीमा साहसपुर्वक फोटो पत्रकारिता गरी ख्याति कमाएका पत्रकार राईलाई दिइएको यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

यसैगरी यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददाता दीपा दाहाललाई प्रदान गरिएको छ । नारी साप्ताहिक, रेडियो कान्तिपुर र अन्नपुर्ण पोष्ट दैनिक लगायतका पत्रिकामा काम गरिसकेकी दाहाललाई दिइएको यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

यो वर्षको उत्कृष्ट युवापत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समचारदाता भउच प्रसाद यादवलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँको छ । यादव विगत डेढ दशकदेखि पत्रकारितमा सक्रिय छन् ।

त्यस्तै यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कारबाट ईमेज च्यालनका प्रमुख समाचार संयोजक राजन कुईंकेललाई दशहजार राशिसहित सम्मान गरिएको छ ।

यो वर्षको उत्कृष्ट युवापत्रकातिा पुरस्कारबाट उज्यालो नेपाल डटकमका प्रधान सम्पादक मनहरि तिमिल्सिनालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रहेको छ ।

त्यस्तै यो वर्षको युवापत्रकारिता पुरस्कारबाट राससका सम्वाददाता सुशिल दर्नाललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि पाँच हजार रहेको छ ।
पुरस्कार हिजो रिपोर्टर्स क्लव नेपालको वीसौं वार्षिकोत्सवका अवसरमा काठमाण्डौस्थित् राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदान गरिएको हो ।

सोही कार्यक्रममा क्लबले प्रधानमन्त्री केपी ओली र प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवलाई विशेष अभिनन्दन गरेको थियो ।
कार्यक्रममा समाजको विभिन्न क्षेत्रमा रहेर मुलुकको विकास र समृद्धिको लागि योगदान पुर्याए बापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्मानितहुनेहरुमा सासंद तथा उद्यमी मोति दुगड, पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु कँडेल,नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, बरिष्ठ समाजसेवी, स्वास्थ्य सेवाएवम् उद्यमी लोकबहादुर टण्डन, युवाउद्यमी ईश्वरी खड्का, त्रिपुरा मिडिया प्रालिका उपाध्यक्ष उत्तमकुमार अधिकारी, सहकारी अभियान्ता राजकुमार दंगाल, उद्यमी कमल चौलागाई, संचार उद्यमी भरत डाँगी, मानवअधिकारकर्मी तुलसीथापा, एक्टिभ प्रेसका प्रबन्ध संचालक रमेशकिशोर श्रेष्ठ,समाजसेवी सररस्वति श्रेष्ठ, युवाउद्यमी महेशराज खकुरेल रहेका छन् ।

त्यसैगरि गायक तिलक बस्नेत, अग्नी वाणका सम्पादक रविन थपलिया, नेपाल टेलिभिजनका इश्वर महर्जन, कान्तिपुरकर्मी विनोद कोजु, न्युज ट्वान्टीफोर टेलिभिजनका कान्छा डंगोल, जनता टेलिभिजनका हरी सिलवाल, राष्ट्रिय समाचार समिति गुल्मीका प्रतिनिधि कौरव खत्री, रिपोर्टर्स क्लब रौतहट शाखका अध्यक्ष अभिमन्यु पटेल, न्युज टवन्टीफोर टेलिभिजनकर्मी प्रदिपराज दाहाल, गोरखापत्र संस्थानका बद्री अधिकारी र जनता टेलिभिजनकी राधिका श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !