१३ बैशाख २०८१, बिहिबार

महिला तथा अशक्तलाई स्वास्थ्य सामग्री हस्तान्तरण


मास्क र स्यानिटाइजर

काभ्रेपलाञ्चोक । जिल्लाको दुई स्थानीय तहका महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिबीएम नेपालको साझेदारी तथा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलको सहकार्यमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाको आयोजनामा सञ्चालित ‘सबैका लागि समावेशी परियोजना’अन्तर्गत लक्षित वर्गलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । दुई तहका ७०० लाई स्थानीय तहमार्फत रु १० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको रिमरेकका सचिव रमेश गौतमले बताउनुभयो ।

गौतमका अनुसार लक्षित वर्गलाई स्वास्थ्य सामग्री प्रदान गर्न दुई स्थानीय तहमा प्रतिव्यक्ति चारका दरले दुई हजार ८०० साबुन, तौलिया ७०० थान, प्रतिव्यक्ति ५० का दरले ३५ हजार मास्क तथा दुवै तहका स्वास्थ्य शाखालाई थर्मलगन पाँच, पिपिइ सेट १०, ग्लोब्स पाँच प्याकेट, अक्सोमिटर १०, बेडसेट पाँच, ‘सप्लिमेन्टरी फुड’ २५ प्याकेटका दरले हस्तान्तरण गरिएको हो । लक्षित वर्गका लागि उक्त सामग्री स्थानीय स्वास्थ्य शाखाले घरघरमै पु¥याइदिने जनाइएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार मण्डन देउपुरमा कोरोनाबाट १८ को मृत्यु भएको छ । हाल त्यहाँ चार महिलासहित १० सक्रिय सङ्क्रमित छन् । भुम्लुमा कोरोनाबाट १२ को मृत्यु भइसकेको छ । हाल दुई महिलासहित १५ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

रिमरेकले गत चैतमा ती दुई स्थानीय तहका ४०० अतिविपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट, सुत्केरी सामग्री, एक बोरा चामल, नुन र तेल तथा लत्ताकपडा वितरण गरेको थियो । परियोजनाअन्तर्गत दुवै तहका सङ्कटासन्न लक्षित वर्गलाई उक्त परिमाणको राहत तीन चरणमा वितरण गरिएको हो ।

“हामीले सहयोगी संस्थाबाट प्राप्त सामग्री राहत सामग्री स्थानीयस्तरमै पुगेर प्रदान गर्दै आएका छौँ”, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले भन्नुभयो । यसअघि गत वर्ष माघमा सिबीएम नेपालकै सहयोगमा रिमरेकले ती दुई स्थानीय तहका अतिविपन्न शरिरीक अपाङ्गता भएका २२० व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले एक÷एक थान ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !