७ बैशाख २०८१, शुक्रबार

‘जीवन–यात्रा’ को लोकार्पण


लोकार्पण

भक्तपुर । सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले आज यहाँ आयोजना गरेको नव वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।

पत्रकार रिसालले पुस्तकमा समेटिएका विषयवस्तुले आफ्नो बालापन र जीवनको दुःख सुखलाई समेत स्मरण गराएको चर्चा गर्दै तत्कालीन समयमा काँठको अवस्थादेखि यहाँको रहनसहनलाई पुस्तकले उजागर गर्न सफल भएको बताउनुभयो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य शशीजङ्ग थापाले कृतिकारले ८० वर्ष अगाडिको समयमा काँठ क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था कस्तो थियो भन्ने चर्चा यस पुस्तकमार्फत उजागर गरेको बताउनुभयो ।

कृतिका बारेमा चर्चा गर्दै ८१ वर्षीय पुस्तकका लेखक विष्टले २०५८ चैतमा निजामती सेवामा उपसचिव पदबाट अवकास प्राप्त गर्दाको समय, सेवाकालीन अनुभव, भोगाइ र विभिन्न जिल्लामा कार्य गरेको, सामाजिक सेवा, योग शिक्षक भई कार्य गर्दाको अनुभव, ८० वर्ष अगाडिको काठमाडौंँको काँठ क्षेत्रको अवस्था, रहनसहनलगायत विभिन्न विषय पुस्तकमा समेटिएको बताउनुभयो । यसअघि उहाँले सिरुटारका विष्ट परिवारको वंशावली तथा कूलदेवता पूजा नामक पुस्तक समेत प्रकाशन ल्याउनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !