६ जेष्ठ २०८१, आइतबार

५० बिगाहा मिचिएको सीमाबारे बुझ्न नापीको टोली वीरगञ्जमा


bharat

६ माघ, वीरगञ्ज । सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतमा परेको सार्वजनिक भएलगत्तै नापी विभागको एक टोली वीरगञ्ज आइपुगेको छ । नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज आइपुगेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले प्राविधिक रुपमा नक्सांकन मिले/नमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज आइपुगेको जानकारी दिए । ‘ सीमा स्तम्भ मर्मत र निर्माणको काम हामीले यसअघि देखि नै गर्दै आएका हौं, भुषण देव राय र वलिव मियाँको १०७/१०७ वर्ग मिटर जमिन भारततर्फ पर्न गएको छ ’, उनले भने ‘ स्थानीयको दावी अनुसार आवश्यक कागजपत्र छ वा छैन हामी जाँच गर्छौ, त्यसपछि फारम भरेर तथ्यांक संकलन गरेर सर्भे डिपार्टमेन्टमा पठाउँछौं ।’

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको स्थानीयको दावी छ । मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !