६ बैशाख २०८१, बिहिबार

कोभिडबाट सिर्जित आर्थिक सङ्टकलाई पार लगाउन महासङ्घमा दरिलो नेतृत्वको आवश्यक : उपाध्यक्ष ढकाल


चन्द्रप्रसाद ढकाल

काठमाडौँ, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण सङ्कटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासङ्घको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताउनुभएको छ ।

उहाँले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक सङ्कटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासङ्घमा दरिलो नेतृत्व आवश्यक रहेको बताउनुभएको हो ।

आज काठमाडौँमा उहाँको टिमका पदाधिकारीसहितका उम्मेदवारसँगको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौँ र अझै हामीलाई के–कस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाइ राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ ।” उहाँले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको र महासङ्घको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

महासङ्घको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासङ्घको गौरवपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै उहाँले भन्नुभयो, “महासङ्घको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्छ ।”

महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासङ्घको नेतृत्वले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेतृत्व भनेको सङ्कटको समयको सारथी हो र यस्तै दुःखका बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासङ्घको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने पनि बताउनुभयो ।

प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उहाँले आफ्नो टिमका सबै साथीलाई आग्रह गर्नुभयो । आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उहाँले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकाले महासङ्घको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने उल्लेख गर्नुभयो ।

उहाँले कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफी नहुने बताउँदै, उहाँले त्यसका लागि महासङ्घको नेतृत्वमा सही र सक्षम व्यक्ति चयन गर्ने उपयुक्त अवसर आएको बताउनुभयो । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ गर्नसक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासङ्घलाई ठूला उद्यमीको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउने बताउनुभयो ।

सो अन्तक्र्रियामा ढकाल समूहबाट उम्मेदवार उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघई लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !