७ जेष्ठ २०८१, सोमबार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्–‘सोती घट्नाले स्तब्ध भएँ, दलित शब्द शब्दकोषबाट हटाउनुपर्छ’


मदनकृष्ण श्रेष्ठ

काठमाडौ, १४ साउन । रुकुमपश्चिमको सोती घट्नाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समुहको समन्वयमा पाँच लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम मृत्तकका प्रत्येक परिवारलाई पचास हजारका दरले रु तीन लाख, प्रत्येक घाईतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार, कानूनी प्रक्रियाका लागि ८० हजार गरि जम्मा पाँच लाख रकम नगरपालिकाका मेयर घर्तीमार्फत पीडितहरुलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाले सोती घटनाका छ जना मृतक र १२ जना घाइतेका परिवारको सहयोगमा प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि सोती घटनाका पीडितको सहयोगका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रुकुममा घटेको उक्त घटनाले आफु स्तब्ध भएको बताउँदै दलित शब्द शब्दकोषबाट हटाउनुपर्नेमा जोड दिए । श्रेष्ठले भने, ‘२१ औं शताब्दीमा आएर पनि १६ औं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाए सम्म मानिसहरुको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।’ घटनालाई अप्रीय र अकल्पनीय भएको भन्दै त्यसप्रति खेद व्यक्त गरे । रुकुममा नरसंहार घटना हुनुुमा अशिक्षा सबैभन्दा ठुलो कारण भएको उनको तर्क थियो । पीडीत परिवारमा भुकम्प, बाढी÷पहिरो एकैपटक आएकोमा दुःख व्यक्त गरे । उनले जताततै न्याय हराएपछि राज्यको चौथो अंग पत्रकारितामात्र न्यायको आशा गरिने स्थान भएको समेत आंैल्याए ।

कार्यक्रममा पूर्वमन्त्री जितु गौतमले सोती घटनाका दोषीलाई उन्मुक्ति दिने गरी अदालतले फैसला गरेको भन्दै आपत्ती जनाए । उनले न्यायालय शंकाको घेरामा रहेको तर्क गरे । कलाकार संघले गरेको सहयोग हस्तातरण कार्य अति नै विवेकशील भएको उनको भनाई छ ।

उनले भने, ‘नवराजकी प्रेमिकाको आमालाई एक लाख धरौटीमा छाड्दा न्यायालयमाथी आपत्ती मैले जनाउँदा न्यायालयमा प्रश्न गर्न नहुने तर्क दिएका साथीहरुले चोलेन्द्र शमसेरले सर्वस्वसहित जन्मकैद तोकेका रञ्जन कोइरालालाई जेलमुक्त गरिदिंदा अहिले सर्वत्र आलोचना गरिहेका छन् । न्यायालय पनि शंकाको घेरामा रहेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !