१३ आश्विन २०८१, आइतबार

नारायणगढ–मुग्लिन सडक साँझ ५ बजेसम्म बन्द हुने


Mugling-Narayanghat-sadak

चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज (शनिबार) सात घण्टा सवारी बन्द हुने भएको छ।

नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ।

आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न अनुरोधसमेत गरेका छन्। भोलि आइतबारदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ।

भोलिबाट एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि साढे ८ बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।

सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ। यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ। दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो।

निर्धारित समयमा सडकको काम नसकिएपछि आगामी फागुनसम्म म्याद थपेर काम हुँदै आएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !