६ जेष्ठ २०८१, आइतबार

त्रिशूली घटना : मृतकका परिवारलाई राहत माग गर्दै प्रमलाई ज्ञापन


trishuli-dhading

कार्तिक २२, काठमाडौँ | दश दिन अगाडि राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेर भएको दुर्घटनाप्रति राज्य पक्षले उचित सम्बोधन गर्न नसकेको, उपचार गर्न नसकेको, क्षतिपूर्ति नदिलाएको भन्दै सप्तरीका अगुवाले रुष्ट भएर मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । सप्तरी उद्योग वाणिज्य संघ, सगरमाथा यातायात बस व्यवसायी संघ, नागरिक समाज, अन्तरपार्टी महिला सञ्जाल, नेपाल पत्रकार महासंघ र पूर्व कर्मचारी सेवा परिषद्का पदाधिकारीले संयुक्तरुपमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेका हुन् ।
प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनमा घाइते भएकाको उपचार प्रभावकारी एवं सुलभ नभइरहेको बुझिन आएको भन्दै घाइतेलाई सवारी धनी वा सरकारबाट उचित खर्च उपलब्ध गराई रेखदेख एवं क्षतिपूर्ति उपलब्ध गराइदिन अनुरोध गरिएको छ । उनीहरुले दुर्घटनामा परी दिवंगत भएकाको परिवारका हकदारले ऐन कानूनबमोजिम सवारी धनी व्यवस्थापक एवं इन्सुरेन्स कम्पनीबाट पाउने क्रियाखर्चलगायत क्षतिपूर्ति उपलब्ध गराइदिनका साथै सरकारका तर्फबाट प्रतिव्यक्ति रु १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् ।
दुर्घटनामा पीडित भएका परिवारलाई सरकारका तर्फबाट कुनै किसिमको समवेदना प्रकट नगरेकाले पीडित परिवार नेपाल देशका बासी नरहेको महसुस गरेको बताउँदै ज्ञापनमा शोकाकुल परिवारलाई सान्त्वना दिएर सरकारको महसुस गराई दुर्घटनामा परी दिवंगत भएका व्यक्तिको नाम, ठेगाना उल्लेख गरी दुर्घटना स्थलमा शिलालेख राखीदिनसमेत माग गरिएको छ । दुर्घटना भएको बसमा तोकिएको भन्दा बढी यात्रु सवार रहेको र बस चालकले मादक पदार्थ सेवन गरी तीव्रगतिमा बस चलाएको पुष्टि भएको भन्दै आगामी दिनमा ऐन, नियमलाई पूर्णरुपमा पालना गराउन माग गरिएको छ ।
बारम्बार दुर्घटना हुने उक्त ठाउँमा सुरक्षालगायत ट्राफिक व्यवस्था नभएको र सडक मर्मत सम्भारतर्फ समेत निष्क्रियता देखाइएका कारण यसतर्फ ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । सो बस दुर्घटनामा सप्तरीका २५ जनाको मृत्यु भएको थियो भने दुर्घटनामा परेका सप्तरीका तीनजना अझै बेपत्ता रहेका छन् । राजविराजबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६७ नं को सन्देश बस कात्तिक ११ गते धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !