१२ आश्विन २०८१, शनिबार

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ


कार्तिक १४, काठमाडौँ | हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेल पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो । सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए । उनलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको हो ।

हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको ठहर गरेका नेता ढुंगेललाई यसअघि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि प्रहरीलाई उच्च दबाबका कारण पक्राउ गर्न सकेको थिएन । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो । त्यसपछि प्रहरीले ढुंगेलको खोजी तीव्र बनाएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरी उच्च स्रोतकाअनुसार पछिल्लोपटक एकसातादेखि सादा पोशाकका प्रहरी ढुंगेलको खोजीमा थिए । ओखलढुंगाका उज्जन श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो । माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई पक्राउ नगर्न यसअघि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै दबाब दिएका थिए । ढुंगेललाई भन्दा पहिले आफूलाई पक्राउ गर्न दाहालले सार्वजनिक चेतावनी समेत दिएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !