१२ आश्विन २०८१, शनिबार

कैदीबन्दीलाई सुत्न सकस


हिरासत

तनहुँ, ३० जेठ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी सकसमा दिनरात गुजार्दै आएका छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन् । २५ जना क्षमता रहेको उक्त कारागारमा हाल ७६ थुनुवा र ७१ बन्दी गरी १४७ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा रातको समयमा सुत्न सकस हुने गरेको कारागारका निमित्त प्रमुख एवं सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

गर्मी बढेसँगै ठाउँ साँघुरो हुँदा सुत्ने समयमा खप्टिएर सुत्नुपर्दा कठिनाइ भोग्नुपरेको छ । उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुत्न र शौचालय जाने समयमा समस्या हुने गरेको छ ।” कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन रु छ करोड ४४ लाखको लागतमा ८० क्षमताको भवन निर्माण गरिएको छ । उक्त बन्दीगृह सुविधासम्पन्न भवन निर्माण गरिए पनि बन्दाबन्दीका कारण उद्घाटन कार्य रोकिन पुगेको छ ।

गत वर्षहरुमा गर्मी बढेपछि कैदीबन्दी धमाधम बिरामी हुने गरे पनि यस वर्ष भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरस कोभिड–१९ बाट सुरक्षित हुन आफन्तजनसँग भेट्ने कार्य रोकिएको र सरसफाइमा ध्यान दिएका कारण पनि उनीहरुको स्वास्थ्य अवस्था ठीक रहेको छ”, उहाँले भन्नुभयो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये करिब ७० जनाले व्यावसायिकरूपमा मुढा बुनेर मासिक सातदेखि १० हजारसम्म कमाउने गरेका छन् । तर बन्दाबन्दीका कारण मुढा बुनाइ कार्य रोकिएको उहाँले बताउनुभयो । बन्दबन्दीको समयमा जिल्ला अदालतबाट पठाइएका थुनुवालाई नयाँ भवनमा र बन्दीलाई पुरानै कारागारमा राख्ने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !