२२ बैशाख २०८१, शनिबार

सिद्धिचरण लोकमार्गमा यात्रुको ज्यान जोखिममा


असोज २०, उदयपुर | उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ । यस क्षेत्रमा सञ्चालन हुने साना तथा ठूला सवारीका साधनले समेत जबर्जस्ती यात्रुलाई गाडीभित्र कोच्ने र छतमाथि समेत राखेर यातायातका साधन सञ्चालन गर्न थालेपछि केही यात्रु बसको छतबाट खसेर गम्भीर घाइते भएका छन् भने कतिपयको जीवन नै जोखिममा पर्न थालेको हर्कपुरका इन्द्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।

भिरालो, वनवे कच्ची सडक भएको र त्यसमा पनि गाडीभित्र र माथि छतमा समेत दोब्बर यात्रु राखेर सवारीसाधन सञ्चालन हुने गर्नाले कुनै पनि बेला सवारी दुर्घटना भइहाले धेरै यात्रुको ज्यान जाने अवस्था रहेको खोटाङ तुवाचुङ नगरपालिका–४ का युवराज राई बताउहुन्छ । रु पाँचसयदेखि एक हजार सवारी भाडा निर्धारण गरेको ठाउँमा अहिले रु दुई हजारभन्दा बढी सवारी भाडा तिर्नु पर्ने नत्र गाडीबाट सवारी चालकले जबर्जस्ती झारी दिने गरेकोसमेत हर्कपुरकै अर्का यात्री इन्दिरा राईको गुनासो छ ।

करिब एक महिनादेखि यस लोकमार्ग क्षेत्रमा यातायात व्यवसायीले मनपरि सवारी भाडा लिने र बढी यात्रु राखेर सवारीसाधन सञ्चालन गर्ने गरेको भएता पनि अहिलेसम्म सम्बन्धित निकायबाट यसको कुनै कारबाही नभएको कुरा हलेसी च्यास्मीटार उच्चमाविका एक शिक्षक बुद्धराज ढकाल बताउनुहुन्छ । कच्ची सडक र सडकको अवस्था जीर्ण रहेका बेला सवारीका साधनले तलभित्र र माथि छतमा भरी यात्रु राख्नाले कुनै पनि बेला सवारी दुर्घटना भए ठूलै मानवीय क्षतिको अवस्था आउने यात्रु र स्थानीयवासी जनतासमेत बताउँछन् ।

सडकको अवस्थाअनुसार सवारीसाधनले सोही क्षमताअनुसार यात्रु बोक्नु पर्ने भए पनि भित्र र माथि भरी यात्रु बनाएर मात्र सवारी चालकले गाडी चलाउने र महँगो सवारी भाडा लिने यस लोकमार्गको परम्परानै हुन थालेको घुर्मीका स्थानीय लोकबहादुर पुलामी मगर बताउनुहुन्छ । यता सम्बन्धित यातायात व्यवसायी संघले भने मनपरि सवारी भाडा लिने जो कोही सवारी सञ्चालकलाई थाहा पाए तत्काल कारबाही गर्ने बताउने गरेको छ । घुर्मीमा अहिले केही समयको लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट र प्रहरी चौकी रहेको भएता पनि यातायात व्यवसायीले प्रहरीको वास्तै नगरी क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारी भाडा मनपरि लिने कार्य झनै बढ्दै गएको यस क्षेत्रमा सवार आम यात्रुको गुनासो बढ्दै जान थालेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !