९ असार २०८१, आइतबार

राष्ट्रिय एकताका लागि बुद्धका उपदेश – गण्डकी प्रदेश प्रमुख शेरचन


अमिक शेरचन

कास्की, २५ वैशाख । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४ औँ जन्म जयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको पवित्र दिनमा सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

शेरचनले शान्तिका अग्रदूत बुद्धका समतामूलक समाज निर्माणका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिनुभएको छ ।

उहाँले आर्थिक समृद्धि, सामाजिक विकास एवं सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त रहेकाले बुद्ध जयन्तीको यस अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीमा आह्वानसमेत गर्नुभएको छ ।

सन्देशमा कोरोना भाइरसको महामारीका कारण विश्वभरि सिर्जित समस्यालाई नियन्त्रणमा लिन नेपाल सरकारले गरेको लकडाउन सफल बनेको बताउँदै उहाँले अझै पर्याप्त पिसीआर परीक्षणका माध्यमबाट सङ्क्रमणको अवस्था पत्ता लगाइ यसको रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका खेल्ने विश्वास लिइएको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !