१० असार २०८१, सोमबार

सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी


खिलराज रेग्मी

काठमाडौँ, १ वैशाख । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनाको विकल्प नरहेको स्पष्ट गर्नुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभएको छ, “एकल प्रयासले मात्र लड्न असम्भव देखिएको यो महामारीलाई सामूहिक प्रयास र सहयोगले परास्त गर्न सफल होऔँ । बन्दाबन्दी ‘लकडाउन’को उल्लङ्घनबाट होइन यसको परिपालनाबाट नै हामी सुरक्षित हुन्छौँ भन्ने कुरा नबिर्साैं ।” उहाँले सम्पूर्ण नेपालीको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

सुख, शान्ति र समृद्धि प्राप्ति होस् : राजपा

राष्ट्रिय जनता पार्टीका संयोजक शरत्सिंह भण्डारीले नयाँ वर्षका उपलक्ष्यमा देशविदेशमा रहेका सबै नेपाली परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

मुलुकमा जारी लकडाउनबाट दैनिक मजदूरी गरी जीवनयापन गरिरहेका तथा विपन्न वर्गलाई रोजीरोटीका लागि परिरहेको समस्या सम्बोधन गर्न प्रभावकारी कदमको आवश्यकता औँल्याउँदै सन्देशमा उहाँले नयाँ वर्षले कोरोना, गरीबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने कार्यमा सफलता प्रदान गरोस् भन्नुभएको छ ।

लकडाउनको पालना गर्नुस् : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोभिड–१९ लाई पराजित गरी मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न नयाँ वर्ष सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने जनताको उत्कट चाहनालाई नयाँ वर्षले सम्बोधन गर्न सकोस् भन्दै सम्पूर्ण नागरिकको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “लकडाउनको कठोर पालनाबाट मात्र कोभिडको प्रकोपलाई पराजित गर्न सक्दछौँ । यो यथार्थलाई आत्मसात् गर्न म सबैमा अपिल गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !