११ आश्विन २०८१, शुक्रबार

पूजा बोहोरामाथि बलात्कार गर्नेलाई साढे ११ वर्ष जेल


nepal-supreme-court

मंसिर २, काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणका अभियुक्तलाई जनही साढे ११ वर्ष जेल सजाय तोकेको छ । घटनाको ८ वर्षपछि सोमबार अभियुक्तद्वय सागर भट्ट र अम्मरराज अवस्थीलाई जेल सजाय तोकेको हो । यसैगरी पीडितलाई राज्य र पीडकबाट दश लाख क्षतिपूर्ति भराउने आदेश समेत भएको छ ।

बलात्कार प्रकरणमा दोषी ठहर गरिएका भट्ट र अवस्थीलाई जेल सजाय हुने गरी अन्तिम फैसला भएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र हरि फुँयालको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । उनीहरुलाई यसअघि सोही इजलासले बलात्कारी ठहर गरेको थियो । सर्वोच्चले दोषी ठहर गरेपनि सजाय तोक्न बाँकी थियो ।

जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना एवं तथ्य प्रमाणको न्यायोचित विश्लेषण हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा ‘दाहो‍याई पाउँ’ निवेदन दर्ता गराएको थियो । २०७१ साल पुस २ गते पेश भएको उक्त निवेदनमा पाँच वर्षपछि अन्तिम फैसला आएको हो ।

२०६८ चैत ७ एसएलसी परीक्षा दिन बैतडीको कैलापालबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा बलात्कारको शिकार भएकी थिइन् । गेस पेपर किन्न स्टेशनरी पसलमा गएका बेला कोकाकोलामा लागूपदार्थ मिसावट गरी खुवाएर बेहोस बनाइएको अभियोग भट्ट र अवस्थीविरुद्ध थियो । शौचालयमा बलात्कृत भएकी बोहोरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !