९ आश्विन २०८१, बुधबार

चिनियाँ दूतावासका कर्मचारीले भेटे ह्याकरलाई


१७ भदौं, काठमाडौं । नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ दूतावासले चासो व्यक्त गरेको छ ।

पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । ‘हामीले गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फिङसा ओलिन आउनुभएको थियो’, प्रहरी स्रोतले भन्यो ।

करिब डेढ घण्टा बसेका दूतावासका कर्मचारीले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए। सुवेदीलाई भेटेर फिङसा ओलिनले आपराधिक गिरोहका हुन् भने अनुसन्धान राम्रोसँग गरिदिन आग्रह गरेका थिए । ती कर्मचारीले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको स्रोतले बतायो ।

चिनियाँ दूतावासको टोलीले गिरोहलाई पनि भेटेको थियो । ‘पक्राउ परेका पाँचैजनालाई भेटेका हुन्’, प्रहरी स्रोतले भन्यो ‘उनीहरुकै भाषामा केही बेर कुराकानी गरे, हामीले बुझेनौं । ’ प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जिया लिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङ यिङ र २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले सोमबार विमानस्थलबाट सु लुस ली नामका व्यक्तिलाई पनि पक्राउ गरेको छ। सु लुस ली भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन । उनलाई भाग्दाभाग्दै प्रहरीले पक्राउ गरेको थियो। नागरिक दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !