३० कार्तिक २०८१, शुक्रबार

बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा


३ भदौं, काठमाडौं । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ । जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन् ।

इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको देखिन्छ । यस्तै इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ। गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको पाइएको छ । कतिपयले आफ्नो नाममा पारिएको जग्गा बिक्रीसमेत गरिसकेका छन् ।

मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए । जग्गाधनीले रैकरबापत ‘राजगुठी’ अन्तर्गत दर्ता भएको बागेश्वरी गुठी व्यवस्थापन समितिलाई मालपोतका रुपमा वार्षिक ७ हजार रुपैयाँ बुझाउँदै आएको उनले जानकारी दिए । समितिका अनुसार गुठीको जग्गामा बसोबास गरेका व्यक्तिसँग राज्यले केही शुल्क लिएर त्यसलाई उनीहरूका नाममा पास गरिदिने व्यवस्था ‘रैकर’ हो । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !